अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या ६३ पुग्यो , २६ लाख मानिस अध्यारोमा बस्न बाध्य
प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार
अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ ।
उद्धारकर्ताले विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको प्रभावित पाँच राज्यमा खोजी प्रयास जारी राखेका छन् ।
चौथो श्रेणीको आँधीको रूपमा बिहीबार फ्लोरिडामा अवतरण गरेको हेलेन बिस्तारै निष्क्रिय हुँदै उत्तरतर्फ बढेको थियो ।
अलाबामा, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना र टेनेसी गरी छ वटा राज्यमा सङ्घीय आपतकालीन अवस्था घोषणा गरिएको छ ।
उद्धारका लागि सङ्घीय आपतकालीन व्यवस्थापन प्रशासन ९फेमा० का ८०० भन्दा बढी कर्मचारीहरू तैनाथ गरिएको छ ।
हाल ‘उत्तर–उष्णकटिबन्धीय चक्रवात’ को रूपमा वर्गीकृत गरिएको आँधी ओहायो उपत्यका र मध्य एपलाचियनलाई आइतबारसम्म रहने अपेक्षा गरिएको नेशनल शुरिकेन सेन्टरले जनाएको छ ।
आँधीजन्य विपदका कारण दक्षिण क्यारोलिनामा कम्तिमा २४, जर्जियामा १७, फ्लोरिडामा ११, उत्तरी क्यारोलिनामा १० र भर्जिनियामा एक जनाको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएको छ ।
मौसम पूर्वानुमान सम्बन्धी राष्ट्रिय निकायले विगत दुई दिनदेखि आएको विनाशकारी बाढीपछि अब स्थितिमा सुधार हुने जानकारी गराएको छ । तर बिजुली कटौती लामो समयसम्म हुनसक्ने चेतावनी दिएको छ ।
आँधीको प्रभावले दक्षिणपूर्वी फ्लोरिडादेखि मिडवेस्ट इन्डियानासम्म १० राज्यमा २६ लाख मानिसहरू विद्युत्को अभावमा अध्यारोमा बसिरहेका छन् ।