टि ट्वान्टी सिरिज : नेपालले ओमानलाई हरायो


प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १ सय ३९ रनमा समेटियो ।

ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।

ओमानलाई १ सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे ।

रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् ।

त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए । उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए । आसिफ शेख र अनिल शाहले समान २७।२७ रन बनाए ।

बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक ३ विकेट लिए । सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए ।

त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।

सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल मङ्गलबार क्यानडासँग खेल्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com