इजरायलले मारिए भनेका हिजबुल्लाह नेताको भिडियो सन्देश जारी : जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने घोषणा


प्रकाशित मिति : आश्विन १४, २०८१ सोमबार

हिजबुल्लाहले नयाँ प्रमुख जतिसक्दो छिटो चयन गर्ने बताएको छ । इजरायलले आफ्ना नेता हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहका उपनेता नईम कासिमले आफ्नो समूहले ‘जतिसक्दो चाँडो’ नयाँ प्रमुख चयन गर्ने बताउनुभएको हो ।

उहाँले इरान समर्थित आन्दोलनले इजरायलसँग निरन्तर लड्ने र कुनै पनि स्थलगत आक्रमणको सामना गर्न तयार रहेको पनि बताउनुभएको छ ।

हिजबुल्लाहको अल–मनार च्यानलमा प्रसारण गरिएको भिडियो सम्बोधनमा कासिमले भन्नुभयो हामी जतिसक्दो चाँडो पार्टीको नयाँ महासचिव चयन गर्नेछौं ।

सम्बोधनमा उहाँले नसरल्लाहको अन्त्येष्टि कहिले गर्ने भन्नेबारे केही बताउनुभएन ।

कासिमका अनुसार दक्षिणी लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर अली काराके र समूहका अन्य दुई सदस्यसँगको भेटघाटका क्रममा नसरल्लाहको इजरायली आक्रमणबाट मृत्यु भएको थियो ।

कासिमले आफू २० जनाभन्दा बढी अन्य नेतासहित मारिएको इजरायली सेनाको दाबीको खण्डन गर्नुभएको छ ।

कासिमले हिजबुल्लाहले गाजा र प्यालेस्टिनीको समर्थनमा लेबनान र त्यहाँका जनताको रक्षाका लागि इजरायलसँगको युद्ध जारी राख्ने बताउनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com