टि ट्वान्टी क्रिकेट : नेपालको क्यानडासँग लगातार दोश्रो हार


प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित भएको छ ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९ औँ ओभरमा २ छक्का र १ चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्यो ।

क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे । पावरप्लेपछि नेपालको रनको गति सुस्त भयो ।

पहिलो नौ ओभरमा सात दशमलव ४० को औसतले रन बनाएको नेपालले पारी सकिँदा छ दशमलव ९५ औसतमा १३९ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई मध्यमक्रममा समेट्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए ।

एक सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पहिलो दुई विकेट लिँदै ललित राजवंशीले केही आशा जगाए ।

क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्यो ।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामीले एक विकेट लिए । अठार बलमा ३३ रन बनाउनुका साथै एक विकेट लिएका साद विन जफर प्लेयर अफ द म्याच घोषित भए ।

शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमानविरुद्ध खेल्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com