मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिए ,दुई दिनको यात्रा अब तीन घण्टामै


प्रकाशित मिति : आश्विन २०, २०८१ आईतबार

गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ ।

सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताउनुभयो ।

जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ उहाँले भन्नुभयो ।

गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुकसाम्बामा बेलीब्रिज बनाउन चालु आर्थिक वर्षमा ८५ लाख विनियोजन गरेको अध्यक्ष गुरुङले बताउनु भयो ।

सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो ।

२२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताउनुभयो ।

डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ ।

समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com