अमेरिकाद्धारा इजरायलको सुरक्षाका लागि सेना र अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा


प्रकाशित मिति : आश्विन २७, २०८१ आईतबार

अमेरिकाले इजरायलमा सेना र अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरेको छ । इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि इजरायलको हवाई सुरक्षालाई सुदृढ बनाउनका लागि सैन्य सहयोगको घोषणा गरेको अमेरिकाले बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदम इजरायलको रक्षा गर्नको लागि लिइएको बताउनु भएको छ । इरानले अक्टोबर १ मा इजरायलतर्फ १८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले त्यसको प्रत्युत्तरको योजना बनाइरहेको छ ।

अमेरिकाले इजरायललाई ठूलो युद्ध निम्त्याउन सक्ने आक्रमणबाट जोगिन सावधानीपूर्वक प्रतिक्रिया दिन आग्रह गरिरहेको छ । राष्ट्रपति बाइडेनले सार्वजनिक रूपमा इरानको आणविक स्थलहरूमा आक्रमण नगर्न चेतावनी दिनुभएको छ ।

पेन्टागनका प्रवक्ता मेजर जनरल प्याट्रिक राइडरले यो तैनातीलाई अमेरिकी सेनाले पछिल्ला केही महिनामा गरेको व्यापक समायोजनको हिस्सा भनेर वर्णन गरेका छन् ।

जसले इजरायललाई समर्थन गर्ने र इरान तथा इरान समर्थित समूहहरूबाट अमेरिकी कर्मचारीहरूको रक्षा गर्ने उद्देश्य राख्छ । तर, इजरायलको सैन्य क्षमताहरूलाई ध्यानमा राख्दै अमेरिकाले इजरायलमा सैनिक तैनाथ गर्ने संभावना भने कम रहेको छ ।

पछिल्ला केही महिनामा अमेरिकी सेनाले इजरायलको रक्षा गर्न युद्धपोत र लडाकु विमानहरू प्रयोग गरेको छ । जतिबेला इजरायलमाथी इरानले आक्रमण गरेको थियो । तर ती सेनाहरू इजरायलबाहिरबाट तैनाथ भएका थिए ।

टर्मिनल हाई एल्टिट्युड एरिया डिफेन्स प्रणाली THAAD, अमेरिकी सेनाको बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीको महत्त्वपूर्ण हिस्सा हो । यसले इजरायलको पहिले नै सबल क्षेप्यास्त्र प्रतिरक्षा क्षमतामा थप सुदृढीकरण गर्नेछ ।

THAAD ब्याट्री सञ्चालन गर्न करिब १०० सैनिकहरू आवश्यक पर्छ । जसमा ६ वटा ट्रकमा माउन्ट गरिएका लन्चरहरू हुन्छन् । प्रत्येक लन्चरमा ८ वटा इन्टरसेप्टरहरू छन् । र त्यहाँ एउटा शक्तिशाली राडार प्रणाली हुन्छ ।

इरानका विदेश मन्त्री अब्बास अराक्चीले अमेरिकाले इजरायलमा आफ्ना क्षेप्यास्त्र प्रणाली सञ्चालन गर्न सैनिक तैनाथ गरेर उनीहरूको ज्यान जोखिममा पारेको भन्दै चेतावनी दिनुभएको छ ।

तर विज्ञहरूका अनुसार, इरानले अमेरिकासँग प्रत्यक्ष युद्धबाट बच्न खोजिरहेको छ । इरानले अप्रिलमा इजरायलमाथी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो ।

पेन्टागनले २०१९ मा THAAD प्रणालीलाई दक्षिण इस्रायलमा अभ्यासको लागि तैनाथ गरिएको बताएको थियो । जुन यो प्रणाली त्यहाँ रहेको अन्तिम र एकमात्र थियो ।

THAAD प्रणाली निर्माण र एकीकृत गर्ने प्रमुख अमेरिकी हतियार निर्माता कम्पनी लोकहिड मार्टिन हो । जुन छोटो, र मध्यम दायराका ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई खसाल्न डिजाइन गरिएको छ । RTX अन्तर्गत रहेको रेथियोनले यसको उन्नत राडार निर्माण गर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com