इरानबिरुद्ध युरोपेली आयोगको प्रतिबन्ध , रुसलाई हतियार दिएको आरोप


प्रकाशित मिति : आश्विन २९, २०८१ मंगलबार

रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध युरोपेली आयोगले प्रतिबन्ध लगाएको छ । युक्रेनविरुद्ध प्रयोग गर्न इरानले रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोप युरोपेली आयोगले लगाएको छ ।

युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयर लगायत सात संस्थाहरू र उप–रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात जना व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ ।

प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन विरुद्ध रुसको आक्रामक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ भन्नुभयो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई “अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानुन विपरीत“ भन्दै अस्वीकार गर्नुभएको छ ।

उहाँले रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड दिनुभएको इरानको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ ।

प्रतिबन्धहरू विरुद्ध जवाफी प्रतिक्रिया दिने अधिकार इरानसंग सुरक्षित रहेकोसमेत बाघाईले उल्लेख गर्नु भएको छ । इरानको कट्टर प्रतिद्वन्दी इजरायलले भने आयोगको यस कदमको प्रशंसा गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com