अमेरिकी राष्ट्रपति चुनाव : इजरायलको समर्थन कसलाई ?


प्रकाशित मिति : कार्तिक ३, २०८१ शनिबार

अमेरिकामा राष्ट्रपति चुनाव नजिकिँदै गर्दा इजरायलले गाजा क्षेत्रमा हमास र लेबनानमा हिजबुल्लाहलाई अधिकतम क्षति पुर्याउने लक्ष्य निर्धारण गरेजस्तै देखिएको छ ।

इजरायलको यो लक्ष्य निर्धारणले अमेरिकामा नयाँ राष्ट्रपति आउनुअघि हमला र सफलताको बास्तविकता देखाउन पाउने अवसर दिएको देखिने विश्लेषकहरुले बताएका छन ।

इजरायलले आफ्ना शत्रुहरूलाई इरानले पुनर्गठन नगरोस् र फेरि इजरायली नागरिकहरूलाई धम्की नदियोस् भन्ने सुनिश्चित गर्न हमास र हिजबुल्लाह विरुद्ध आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाउँदै लगेको पश्चिमा कुटनीतिज्ञहरुले बताएका छन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको हत्यालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजामा युद्ध अन्त्य गर्न दबाब दिन प्रयोग गर्ने अपेक्षा गरिएको छ । बाइडेनले दवाव दिनसक्ने र इजरायली प्रधानमन्त्रीले त्यसलाई नजरअन्दाज गर्ने संभावना बलियो छ । किनकी यसभन्दा अघि गरिएका र दिइएका दवाव र सुझावलाई इजरायलको तर्फबाट सहर्ष स्वीकार गरिएको देखिदैन ।

बाइडेनको कार्यकाल सकिनै लागेकाले नयाँ राष्ट्रपतिको साथमा नेतान्याहूले कुरा अघि बढाउन सक्ने संभावना पनि उत्तिकै बलियो छ । डेमोक्र्याटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिस होस् वा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प, जससँग नेतान्याहूको नजिकको सम्बन्ध रहेको छ ।

इजरायलले कुनै युद्धविराम सम्झौतामा विचार गर्नुअघि हिजबुल्लाहलाई आफ्नो उत्तरी सीमाबाट टाढा धकेल्न खोजिरहेको छ । त्यसकारण गाजाको जबालिया शरणार्थी शिविरमा आक्रमण गर्दै आफ्नो सैन्य अभियान तीव्र बनाइरहेको छ ।

इजरायलले अक्टोबर १ मा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणको जवाफ दिनको लागि योजना बनाइरहेको छ । पूर्व अमेरिकी सहायक विदेश सचिव डेभिड श्यान्करका अनुसार इजरायल हमास, हिजबुल्लाह संग लडिरहेको छ । छिटै इरानसंग पनि इजरायलको लडाई हुने संभावना बलियो देखिएको छ ।

संयुक्त राज्य अमेरिका इजरायलको मुख्य हतियार आपूर्तिकर्ता हो । इरान समर्थित लक्षहरू हिजबुल्लाह र हमासविरुद्धको लडाइमा अमेरिकाले इजरायललाई हतियार उपलव्ध गराउदै आएको छ ।

यी समूहहरूलाई अमेरिकाले विदेशी आतङ्कवादी संगठनको रूपमा सूचीबद्ध गरेको छ । तर, अमेरिकी अधिकारीहरूले गाजामा मानवीय अवस्थाहरू सुधार गर्न, आवासीय क्षेत्रमा हवाई आक्रमणहरू घटाउन र युद्धविराम वार्ताहरूको लागि इजरायललाई मनाउने प्रयास गर्दा पनि तनाव भने घटिरहेको छैन ।

नेतान्याहूले युद्धविरामलाई अमेरिकी चुनावलाई कसरी प्रभावित गर्न सक्छ भनेर विचार गरिरहेका छन् । युद्धविरामले अमेरिकी उपराष्ट्रपति ह्यारिसलाई मद्दत गर्न सक्छ । तर नेतान्याहू भने ट्रम्पसँग व्यवहार गर्न चाहन्छन् ।

इजरायल, प्यालेस्टिनीहरू र इरानप्रति कडा दृष्टिकोण नेतान्याहूसँग ट्रम्पको मिल्दोजुल्दो छ । जोर्डनका पूर्व विदेशमन्त्री मारवान अलमुशरका अनुसार, नेतान्याहू अमेरिकी चुनावअघि आफ्नो युद्धलाई रोक्ने कुनै कारण देखिदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com