हिज्बुल्लाहका सम्भावित नयाँ नेता सफिउद्दिनको हत्या भएको पुष्टि


प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार

हिज्बुल्लाहका सम्भावित नयाँ नेताको हत्या भएको पुष्टि भएको छ । इजरायली सेनाले दाहियेह उपनगरमा गरेको हवाई आक्रमणमा हिज्बुल्लाहको गुप्तचर शाखाका प्रमुख हाशेम सफिउद्दिन र अली हुसेन हाजिमाको हत्या भएको बताएको हो । यो आक्रमण तीन हप्ता अगाडि भएको थियो ।

इजरायलले हिज्बुल्लाहका पूर्व महासचिव हसन नसरल्लाहपछि संगठनका सबैभन्दा वरिष्ठ राजनीतिक अधिकारीको हत्या भएको पुष्टि गरेको यो पहिलो पटक हो । हिज्बुल्लाहले भने इजरायलको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन ।

सफिउद्दिन हिज्बुल्लाहको सबैभन्दा उच्च राजनीतिक निर्णय गर्ने निकाय, कार्यकारी परिषद्का प्रमुख थिए । उनलाई केही वर्षअघि नसरल्लाहको उत्तराधिकारीका रूपमा चयन गरिएको बताइएको थियो ।

उनी नसरल्लाहका काका पर्ने व्यक्ति पनि हुन् । उनमा नसरल्लाहसँग मिल्दो जुल्दो करिश्मा रहेको मानिन्थ्यो ।

सफिउद्दिनको अवस्था अक्टोबर ३ मा इजरायली आक्रमणपछि अज्ञात रहेको थियो । इजरायलले उक्त दिन दाहियेहमा एक भूमिगत बंकरलाई निशाना बनाएको बताएको थियो । जहाँ सफिउद्दिन बस्दै आएका थिए । आक्रमणपछि हिज्बुल्लाहले सफिउद्दिनसँग सम्पर्क गर्न सकेको थिएन ।

उद्धारकर्मीहरूलाई घटनास्थलमा पुग्न रोकिएको थियो। सफिउद्दिनको हत्यापछि हिज्बुल्लाहको सार्वजनिक रूपमा देखिने उच्च नेतृत्वमा मात्र उपमहासचिव नैम कासेम बाँकी रहेका छन् ।

सफिउद्दिनको हत्या भएको आक्रमणमा इजरायलले २५ अन्य हिज्बुल्लाह नेताहरू पनि मारिएका दाबी गरेको छ । यसअघि गत हप्ता, इजरायलले गाजामा हमासका नेता याह्या सिनवारको पनि हत्या गरेको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्केनले मंगलबार इजरायल भ्रमणका क्रममा सिनवारको मृत्युलाई गाजामा युद्ध अन्त्य गर्न र बन्धकहरूको रिहाइका लागि अवसरको रूपमा लिन इजरायललाई सुझाव दिएका थिए ।

इजरायलले ३० सेप्टेम्बरदेखि लेबनानमा थालिएको स्थलगत आक्रमणको क्रममा दैनिक भिडन्तहरू भइरहेका छन्। हत्या गरिएका सफिउद्दिनको जन्म १९६४ मा दक्षिणी लेबननमा भएको थियो । उनी हिज्बुल्लाहका संस्थापक सदस्यहरूमा पर्थे।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com