मस्कको चुनावी अभियान विवादमा , न्याय विभागले पत्र पठायो


प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार

एलन मस्कको चुनावी अभियान संस्था (क्याम्पेन अमेरिका पीएसी) विवादको घेरामा परेको छ । अमेरिकी न्याय विभागले चेतावनी दिँदै मस्कको चुनावी अभियान संस्थालाई पत्र पठाएको छ ।

मतदाताहरुलाई प्रतिदिन १ मिलियन अमेरिकी डलर दिने भनिएको मस्कको चुनावी अभियान कानूनी उल्लंघनको दायरामा पर्न सक्ने पत्रमा उल्लेख गरिएको छ ।
पहिलो पटक सीएनएनले मस्कको चुनावी क्याम्पेनलाई पत्र पठाइएको जानकारी सार्वजनिक गरेको थियो ।

एलन मस्कको क्याम्पेन अमेरिका पीएसी ले सातवटा स्विंग राज्यहरूमा दर्ता भएका मतदाताहरुलाई हस्ताक्षर गर्न आग्रह गर्दै यो पुरस्कार योजना सार्वजनिक गरेको थियो ।

चुनाव सम्पन्न नहुन्जेलसम्म हस्ताक्षर गर्ने व्यक्तिहरूमध्ये एक जनालाई हरेक दिन १ मिलियन अमेरिकी डलर प्रदान गरिने योजना रहेको छ ।

केही कानूनी विशेषज्ञहरूले यसअघि नै यो योजना गैरकानूनी हुन सक्ने बताएका थिए । १९ अक्टोबरमा पेनसिल्भेनियामा आयोजित एक कार्यक्रममा लटरीबाट पहिलो व्यक्तिलाई चेक प्रदान गरिएको थियो ।

अमेरिकामा नोभेम्वर ५ मा राष्ट्रपति पदका लागि चुनाव हुदैछ । यो चुनावमा रिपव्लिकन उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्राटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा उत्रनु भएको छ ।

अमेरिकन खर्बपति एलन मस्क भने रिपव्लिकन उम्मेदवार ट्रम्पको पक्षमा खुलेर लाग्नु भएको छ ।

मस्कको चुनावी अभियान क्याम्पेन अमेरिका पीएसी पनि ट्रम्पलाई चुनाव जिताउन ७ वटा स्विङ स्टेटमा सञ्चालन गरिएको अभियान हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com