अधिकांश इजरायलीको समर्थन ट्रम्पलाई , नेतन्याहूको कामना कसका लागी ?


प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार

अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिंदै गर्दा इजरायल भने डोनाल्ड ट्रम्पको पक्षमा देखिन थालेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गर्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गर्न थालेका छन ।

नेतन्याहूका लागि ट्रम्पको अन्तिम कार्यकाल सहज थियो । नोभेम्बर ५ का लागि तय भएको मतदानको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपतिले आफ्नो मध्यपूर्व नीतिबारे मिश्रित सन्देश पठाउनुभएको छ ।

उहाँले नेतन्याहूलाई आफु राष्ट्रपति भएको भए अक्टोबर ७ को आक्रमण कहिल्यै हुने थिएन भन्ने सन्देश पनि पठाउनु भएको पाइएको छ ।

यद्यपि ट्रम्पको ‘अमेरिकालाई फेरि महान् बनाऊ’ भन्ने चुनावी नारा र इजरायलबारेका यी अस्पष्ट अभिव्यक्ति र नीतिहरूले नै नेतन्याहूले ट्रम्पसँग आशा गरेको विश्लेषकहरू बताउँछन् ।

रिपब्लिकन राष्ट्रपतिका रूपमा ट्रम्पले नेतन्याहूलाई गाजा र लेबनानमा जारी द्वन्द्वको सामना गर्न थप स्वतन्त्रता दिने सम्भावना रहनेछ ।

नेतन्याहूको एउटा कोसेढुङ्गा अमेरिकी निर्वाचन पनि हो । उहाँले ट्रम्पको विजयका लागि प्रार्थना गरिरहनुभएको छ । जेरुसेलमको हिब्रु विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक गिडोन राहतले भन्नुभएको छ ।

डेमोक्र्याटहरू नेतन्याहूमाथि धेरै कठोर छन् । प्रधानमन्त्रीका रुपमा १७ वर्षको कार्यकालमा नेतन्याहूले रिपब्लिकन पार्टीका नेता ट्रम्पसँग मात्र सहकार्य गर्नुभएको छ । यो अवधिमा अमेरिकामा अन्य राष्ट्रपति सबै डेमोक्र्याटिक पार्टीबाट निर्वाचित भएका थिए ।

राष्ट्रपतिका रूपमा रिपब्लिकन नेता ट्रम्पले अमेरिकी दूतावासलाई जेरुसेलममा स्थानान्तरण गर्नुभएको थियो । यसलाई इजरायलले आफ्नो अविभाजित राजधानीको रूपमा दावी गर्दछ ।

ट्रम्पले इजरायलको कट्टर शत्रु इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट पछि हट्नुभएको थियो र पुनः इस्लामिक गणतन्त्र इरानमाथि कडा आर्थिक प्रतिबन्धहरू लागू गर्नुभएको थियो ।

इजरायल इन्स्टिच्युट फर रिजनल फरेन पोलिसीज मिटभिमले सेप्टेम्बरमा गरेको जनमत सर्वेक्षणमा ६८ प्रतिशत इजरायलीले ट्रम्पलाई इजरायलको हितमा काम गर्ने उम्मेदवारका रुपमा हेरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com