साफ च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित


प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गतको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द गरेको छ ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले दशरथ रंगशाला त्रिपुरेश्वरमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

एन्फाले आइतबार भएको सेमिफाइनल खेल अन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकट बिक्री बन्द गरिएको जनाएको छ ।

यस्तै, टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको र हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न समेत निर्देशन दिइएको प्रवक्ता सुरेश शाहद्धारा जारी सूचनामा उल्लेख छ । साथै, एन्फाले अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न समेत दर्शकहरुमा अपिल गरेको छ ।

“मिति २०८१ कात्तिक ११ गते आइतबार दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाण्डौंमा साफ वुमन्स च्याम्पियनसिप २०२४ को सेमिफाइनल खेल अन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको हुँदा माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट विक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौं ।”, सूचनामा भनिएको छ ।

एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण व्यवस्थित गरी अर्को सूचना मार्फत् जानकारी गराउने समेत बताएको छ ।

कात्तिक १ गतेदेखि काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेल बुधबार साँझ ६ः३० बाट दशरथ रंगशालामा सुरु हुँदैछ । फाइनलमा नेपाल र बंगलादेश भिड्दैछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com