ट्रम्पपछि हटेपनि अमेरिकी जनता जलवायु परिवर्तनविरुद्धको लडाईंमा सकृय रहने
प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार
अमेरिकाका जलवायु दूत जोन पोडेस्टाले डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि अमेरिकाले जलवायु परिवर्तनविरुद्धको लडाईं जारी राख्ने बताउनुभएको छ ।
ऐतिहासिक पेरिस सम्झौताबाट वासिङ्टनलाई फिर्ता गर्नुभएका आगामी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता र जलवायु परिवर्तनबारे उहाँको नियमित प्रश्नका कारण बाकुमा हुने वार्तामा ट्रम्पको पुनरागमनले छायाँ पारेको छ ।
संयुक्त राष्ट्रसङ्घको कोप–२९ वार्तामा पोडेस्टाले आगामी प्रशासनले ‘यु–टर्न लिने प्रयास गर्ने’ स्वीकारे पनि उहाँले अमेरिकी शहर, राज्य र व्यक्तिगतरूपमा नागरिकले यस अभियानलाई निरन्तरता दिने बताउनुभयो ।
डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाको सङ्घीय सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यलाई पछाडि धकेल्न सक्छ । तर अमेरिकामा जलवायु परिवर्तन नियन्त्रणका लागि प्रतिबद्धता, आकर्षण र विश्वास जारी रहनेछ उहाँले भन्नुभयो ।
बाकु वार्ता विश्वव्यापी सहयोगका लागि आह्वान र जलवायु विपत्तिका बारेमा ताजा चेतावनीका साथ सोमबार सुरु भएको हो ।
केही देशहरूले गत वर्षको कोप २८ सम्झौताको कार्यान्वयनलाई जलवायु वित्तको ढाँचाभित्र मात्र छलफल गर्न जोड दिएपछि तेल र ग्याँसको धनी अजरबैजानको राजधानी बाकुमा सुरू भएको वार्ता लगभग तुरुन्तै रोकिएको थियो ।