ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा चीनप्रति कडा दृष्टिकोण राख्ने वाल्ट्जलाई चयन गर्ने
प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका प्रतिनिधि माइक वाल्ट्जलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गर्न आग्रह गर्नुभएको छ । ट्रम्पले गरेको प्रस्ताव स्वीकार गरेमा चीनप्रति कडा दृष्टिकोण राख्ने वाल्ट्ज राष्ट्रिय सुरक्षा सल्लाहकार चयन हुनुहुनेछ ।
यस भूमिकामा, वाल्ट्जले युक्रेन रुस र इजरायल हमास युद्धहरू लगायत ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा सामना गर्ने विभिन्न भूराजनीतिक संघर्षहरूको समाधान गर्नुपर्नेछ ।
वाल्ट्ज, ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ । अफगानिस्तान, मध्य पूर्व, र अफ्रिकामा उहाँले काम गरिसक्नु भएको छ । यो पद धारण गर्ने उनी पहिलो ग्रीन बेरेट पनि हुनुहुनेछ ।
राष्ट्रिय सुरक्षा टोलीलाई युक्रेन, रुस, मध्य पूर्व, चीन र इरानप्रतिको अमेरिकाको दृष्टिकोणलाई पुनर्विचार गर्ने कार्यमा लगाइनेछ । वाल्ट्जको चयनलाई ट्रम्पको “अमेरिका फस्ट” एजेन्डामाथिको बहसमा एक कदमका रूपमा हेरिन सक्छ ।
ट्रम्पले विदेश र राष्ट्रिय सुरक्षा नीतिको निरीक्षण गर्न चीनप्रति कडा दृष्टिकोण राख्ने पूर्व ग्रीन बेरेट वाल्ट्जलाई रोज्नु भएको हो ।
५० बर्षीय वाल्ट्ज सशस्त्र सेवा, गुप्तचर, र विदेशी मामिलासम्बन्धी समितिहरूका सदस्य समेत हुनुहुन्छ । ट्रम्प प्रशासनमा रहेर उहाँले युक्रेनमा रुसको युद्ध, मध्यपूर्वको द्वन्द्व, र बढ्दो आक्रामक चीनको सामना गर्न चालिने रणनीति तय गर्नुहुनेछ ।
२०२० मा ट्रम्पले ईरानी मेजर जनरल कासिम सुलेमानीको ड्रोन आक्रमणको अनुमति दिदा उक्त आक्रणको जानकारी पाउने मध्ये वाल्ट्ज पनि एक हुनुहुन्थ्यो ।
वाल्ट्ज चीन र ईरान दुवैप्रति कडा नीति अपनाउने व्यक्तिको रुपमा चिनिनुहुन्छ । उहाँले अफगानिस्ताबाट सेना फिर्ता गर्ने राष्ट्रपति बाइडेनको निर्णयको कडा आलोचना गर्नुभएको थियो ।
उहाँले अमेरिकाले युक्रेनलाई सहयोग गर्नुपर्ने कुरा बताउँदै अमेरिकी करदाता रकमको प्रयोगमा अझ निगरानी आवश्यक रहेको धारणा पनि राख्नुभएको छ ।