अमेरिका र फ्रान्सले तयार पारेको युद्धविराम सम्झौतामा इजरायल र लेबनान सहमत , ६० दिने युद्धविराम आजैबाट सुरु
प्रकाशित मिति : मंसिर ११, २०८१ मंगलबार
इजरायल र लेबनानबिच युद्धविराम भएको छ । १३ महिनादेखि चलिरहेको सीमा विवादलाई अन्त्य गर्न अमेरिकी समर्थन प्राप्त प्रस्तावलाई दुवै देशले स्वीकार गरेका छन । इजरायलले सेप्टेम्बरमा हिज्बुल्लाहसँगको आक्रमण सुरु गरेपछि पूर्ण युद्धमा परिणत भएको थियो ।
ह्वाइट हाउसको रोज गार्डनबाट अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौताबारे जानकारी दिँदै यो सम्झौता स्थायी शत्रुता अन्त्य गर्न डिजाइन गरिएको र आजैबाट लागु हुने बताउनु भयो ।
बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँको संयुक्त वक्तव्यअनुसार, यो युद्धविरामले दुवै देशका बासिन्दालाई आफ्नो घर सुरक्षित रूपमा फर्कने र शान्ति पुन स्थापना गर्ने वातावरण तयार गर्नेछ ।
यसैबिच इजरायलका सुरक्षा मन्त्री इतामार बेन गभिरले प्रस्तावित युद्धविराम सम्झौताको विरोध गर्नुभएको छ । यो सम्झौताले उत्तर इजरायलमा इजरायलीहरूलाई पुनःस्थापनाको सुनिश्चितता नगर्ने दाबी गर्नुभएको छ । उहाँले लेबनानी सेनाले हिज्बुल्लाहलाई पराजित गर्न सक्ने क्षमता नभएको बताउनु भयो ।
यसअघि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराम सम्झौता कार्यान्वयन गर्न तयार रहेको बताउनु भएको थियो । उहाँले सम्झौताको कुनै पनि उल्लंघन भएमा हिज्बुल्लाहलाई बलियो प्रतिकार गर्ने चेतावनी पनि दिनुभएको छ ।
सम्झौताको मुख्य बुँदाहरू
सम्झौतामा के छ ?
सम्झौताले ६० दिनको युद्धविरामको व्यवस्था गरेको छ । जसलाई स्थायी शान्तिका लागि आधार मानिएको छ । यो अवधिमा, हिजबु्ल्लाहका लडाकुहरू इजरायल लेबनान सीमाबाट करिब ४० किलोमिटर पछाडि हट्नुपर्नेछ भने इजरायली सेना लेबनानी क्षेत्रबाट फिर्ता जानुपर्नेछ ।
यो सम्झौताको आधार सन् २००६ मा दुई देशबीचको अन्तिम पूर्ण युद्ध समाप्त गर्न लागू भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ हो । उनीहरुबिचका वार्ताहरू मुख्य रूपमा उक्त सन्धिको कार्यान्वयनमा केन्द्रित थिए ।
सम्झौताअनुसार, लेबनानले आफ्नो दक्षिणी भागमा रहेको लितानी नदीभन्दा तल हिजबुल्लाहको गतिविधिमा कडाइ गर्नेछ ।
संयुक्त राष्ट्रको शान्ति सेनाहरू, लेबनानी सेना र एक बहुराष्ट्रिय समिति हिजबुल्लाहको गतिविधिको निगरानी गर्नेछन् । इजरायलले सम्झौताको उल्लंघन भएमा सैनिक कारबाही पुन सुरु गर्ने चेतावनी दिएको छ ।
युद्धविराम टिक्न सक्छ
यो युद्धविरामले इजरायल र लेबनानी नागरिकहरूलाई धेरै राहत दिनेछ। लेबनानीमा सयौं मानिस इजरायली हवाई आक्रमणमा मारिएका छन् । इजरायलका लाखौं नागरिक हिजबुल्लाहको दैनिक रकेट आक्रमणका कारण शरणस्थलमा लुकेका छन् ।
तर, यो युद्धविराम कति समय टिक्छ भन्ने प्रश्न अझै उठिरहेको छ । इजरायलले सम्झौतामा कुनै पनि उल्लंघन भएमा तुरुन्तै सैन्य कदम चाल्ने बताएको छ ।
के यसले गाजा युद्धमा प्रभाव पार्नेछ
क्षेत्रीय विश्लेषकहरूको अनुसार, सम्भावित हिज्बुल्लाह इजरायल सम्झौताले गाजामा शान्ति ल्याउन खासै प्रभाव पार्ने छैन ।
लेबनान सम्बन्धी कुनै सम्झौताको निष्कर्षले गाजामा सम्झौताको सम्भावना बढाउने संभावना देखिदैन । गाजामा लामो समयदेखि ठोस युद्धविरामका लागि वार्ता नै भएको छैन।