विमान अपहरण गरेर मेक्सिकोबाट अमेरिका मोड्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ
प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार
३१ वर्षीय एक व्यक्तिलाई मेक्सिकोको घरेलु व्यावसायिक उडान अपहरण गरेर विमानलाई अमेरिका मोड्न प्रयास गरेको आरोपमा आइतबार बिहान पक्राउ गरिएको छ।
मेक्सिकोका अधिकारीहरूका अनुसार बिहान लियोनबाट टिजुआना जाँदै गरेको उडानको क्रममा मेक्सिकोका नागरिक मारियो एनले एक फ्लाइट एटेन्डेन्टमाथि आक्रमण गरेर ककपिटमा प्रवेश गर्ने प्रयास गरेका थिए।
विमानलाई ग्वाडालाजारामा मोडिएको थियो, जहाँ मेक्सिकोको राष्ट्रिय गार्डले उनलाई पक्राउ गर्यो। घटनाको स्पष्ट उद्देश्य थाहा हुन सकेको छैन । मेक्सिकोको संघीय सुरक्षा विभागका अनुशार ती व्यक्तिले आफ्नो नजिकको आफन्त अपहरणमा परेको र उडान सुरु हुनुअघि उनलाई टिजुआना यात्रा गरेमा ज्यान मार्ने धम्की दिएको बताएका थिए।
उक्त व्यक्ति आफ्नी श्रीमती र दुई बालबालिकासँग यात्रा गरिरहेका थिए। ग्वाडालाजारामा उनी पक्राउ परेपछि विमान कुनै घटना बिना टिजुआना उड्यो।