रुसबाट जफत गरेको २० अर्ब डलर अमेरिकाले युक्रेनलाई दियो
प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर प्रदान गरेको छ । जफत गरिएको रुसी सम्पत्तिबाट भएको नाफाबाट उक्त परिमाणको रकम जुटाइएको हो ।
यो आर्थिक सहयोग G7 सदस्य राष्ट्रहरूले जुन महिनामा घोषणा गरेको ५० अर्ब डलर अर्थात ३९ अर्ब पाउण्ड को प्याकेजको महत्त्वपूर्ण भाग हो ।
जफत गरिएका सम्पत्तिहरूबाट सहायता जुटाउनुको अर्थ रूसले आफ्नो गैरकानुनी युद्धको खर्च आफैं व्यहोर्नुपर्नेछ , करदाताहरूले होइन, अमेरिकी ट्रेजरी सचिव जेनेट येलेनले भन्नुभएको छ ।
यो सहयोग अमेरिकी राष्ट्रपति जो बाइडेनको स्थानमा डोनाल्ड ट्रम्पको नियुक्ति हुनुभन्दा केही हप्ताअघि प्रदान गरिएको हो । ट्रम्पले पद सम्हालेपछि युक्रेन युद्धलाई चाँडो अन्त्य गर्ने आफ्नो चाहना व्यक्त गर्नुभएको छ ।
नवनिर्वाचित राष्ट्रपतिले युक्रेनलाई आर्थिक सहयोगलाई अमेरिकी स्रोतहरूको बोझको रूपमा चित्रण गर्दै, नयाँ प्रशासनअन्तर्गत सहयोग जारी रहनेमा शंका प्रकट गर्नुभएको छ ।
अमेरिकी ट्रेजरीले २० अर्ब डलर विश्व बैंक कोषमा स्थानान्तरण गरिएको र त्यहाँबाट युक्रेनले आवश्यकतानुसार रकम निकाल्न सक्ने बताएको छ ।
विश्व बैंकद्वारा व्यवस्थापित रकम सैन्य प्रयोजनका लागि भने प्रयोग गर्न पाइँदैन ।
रोयटर्स समाचार एजेन्सीका अनुसार, प्रशासनले रकमको आधा भागलाई सैन्य सहयोगमा समर्पित गर्ने योजना गरेको थियो, तर यो कांग्रेसको अनुमोदन बिना सम्भव थिएन ।
अमेरिकी प्रतिनिधि सभामा राजनीतिक तानातानबीच, युक्रेनका लागि ६१ अर्ब डलरको सैन्य सहायता अप्रिलमा मात्र अनुमोदित भएको थियो ।
G7 राष्ट्रहरूले रुसी सम्पत्तिबाट ५० अर्ब डलरको ऋण युक्रेनलाई दिने सहमति गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्प राष्ट्रपति भएपछि युद्ध छिटो समाप्त हुने अपेक्षा गर्नुभएको छ ।