ट्रम्पको पदस्थापन समारोहमा चिनियाँ राष्ट्रपति नजाने संभावना


प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पदस्थापन समारोहमा चिनियाँ राष्ट्रपति नजाने संभावना बलियो बन्दै गएको छ । निमन्त्रणा भएपनि राष्ट्रपति सी जिनपिङ नजाने संभावना बलियो छ स्रोतले भनेको छ ।

अमेरिकामा रहेका चिनियाँ राजदूतले उक्त समारोहमा सहभागिता जनाउने तर बेइजिङका अन्य अधिकारीहरू पनि उनलाई साथ दिने सम्भावना देखिएको छ ।

कुनै पनि विदेशी नेताले अहिलेसम्म अमेरिकी राष्ट्रपतिको पदस्थापन समारोहमा भाग लिएको पाइएको छैन ।

ट्रम्पले कहिलेकाहीँ राष्ट्रपति सीको प्रशंसा गरेपनि चीनको भने तीव्र आलोचना गरेका छन् । उनले अर्को महिना पदभार ग्रहण गरेपछि चीनबाट आयात गरिने सामानमा भन्सार कर तीव्र रूपमा बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्रम्पका विदेश मन्त्रीका लागि मनोनित मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज, चिनियाँ सरकारका कडा आलोचक मानिन्छन् ।

चिनियाँ सरकारले २०२० मा रुबियोमाथि प्रतिबन्ध लगाएको थियो । उनलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।

वाल्ट्जले युक्रेन र मध्यपूर्वमा जारी संघर्षहरूलाई तत्काल अन्त्य गर्न र चिनियाँ कम्युनिस्ट पार्टीबाट उत्पन्न ठूलो खतरा सामना गर्न अमेरिकालाई आग्रह गरेका छन् ।

हालै अमेरिकी गुप्तचर निकायहरूले चीनले ८ ठूला अमेरिकी टेलिकम कम्पनीहरूलाई ह्याक गरेको आरोप लगाएका छन् । ती ह्याकरहरूले लाखौं अमेरिकीहरूको डाटा पहुँच गरेको हुनसक्ने ह्वाइट हाउसको भनाइ छ ।

पुनःनिर्वाचित भएपछि ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अर्जेन्टिनी राष्ट्रपति जाभियर माइली र फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंजस्ता विदेशी नेताहरूसँग भेटघाट गरिसक्नु भएको छ । माक्रोंले ट्रम्पलाई नोट्रे डेम क्याथेड्रलको पुनः उद्घाटनका लागि पेरिस निम्त्याउनु भएको थियो ।

वासिङ्टन डिसीमा २० जनवरी २०२५ मा हुने पदस्थापन समारोहमा अन्य बिदेशी नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ । तर को–को निमन्त्रित छन् भन्ने सार्वजनिक गरिएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com