द्वितीय विश्वयुद्धका वयोवृद्ध भेट्न पुगेकी पेलोसी आफै अस्पताल भर्ना
प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार
पूर्व अमेरिकी हाउस स्पीकर न्यान्सी पेलोसीलाई अस्पताल भर्ना गरिएको छ । लक्सेम्बर्गको आधिकारिक यात्राका क्रममा चोट लागेपछि उहाँलाई अस्पताल भर्ना गरिएको उहाँको कार्यालयले जानकारी दिएको छ ।
अमेरिकी मिडियाहरुले पेलोसीलाई एउटा कार्यक्रमका क्रममा लडेर हिपमा चोट लागेको उल्लेख गरेका छन् । ८४ वर्षीया पेलोसीको उपचार भइरहेको प्रवक्ता इयान क्रेगरले विज्ञप्तिमा बताएका छन् ।
डेमोक्र्याट नेतृ पेलोसी अहिले पनि अमेरिकी हाउसमा क्यालिफोर्नियाका प्रतिनिधि हुनुहुन्छ । द्वितीय विश्वयुद्धको प्रसिद्ध ब्याटल अफ द बुल्ज को ८० औं वार्षिकोत्सव मनाउन संसदीय प्रतिनिधिमण्डलसँग उहाँ लक्सेम्बर्ग भ्रमणमा रहनु भएको थियो ।
क्रेगरले पेलोसी छिट्टै अमेरिका फर्कने आशा गरिरहेको बताउनु भएको छ । त्यहाँ रहदा उहाँले अस्पतालबाटै आफ्नो कामलाई निरन्तरता दिइरहेको बताइएको छ ।
कांग्रेस सदस्य पेलोसी अमेरिकी राजनीतिमा सात राष्ट्रपतिकालसम्म फैलिएको आफ्नो करियरका कारण चिनिनुहुन्छ ।
उहाँले पहिलो पटक २००७ देखि २०११ सम्म हाउस स्पीकरको रूपमा त्यसपछि २०१९ मा पार्टीले पुनः सदनको नियन्त्रण लिएपछि उहाँले यो पद दोहोराउनु भयो ।
पेलोसीले २०२३ मा दुई छुट्टा–छुट्टै चारवर्षे कार्यकालपछि हाउस स्पीकरको पद त्याग गर्नुभयो । तर उहाँ हाउसमा प्रतिनिधिको रूपमा कार्यरत रहनु भएको छ ।
गत महिना उहाँ फेरि अर्को दुईवर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको छ । हाउस स्पीकर माइक जोन्सनका अनुसार पेलोसीले १७ जना अन्य हाउस सदस्यहरूसँग द्विदलीय यात्रामा भाग लिइरहनु भएको थियो ।
प्रतिनिधिमण्डलले युद्धका वयोवृद्ध, उनीहरूका परिवार र सैनिक अधिकारीहरूसँगै वार्षिकोत्सव कार्यक्रमहरूमा भाग लिनुपर्ने तालिका थियो ।
तर, प्रवक्ताका अनुसार पेलोसी अब बाँकी कार्यक्रमहरूमा सहभागी हुन सक्ने संभावना छैन ।