मानहानि मुद्दामा एबीसी न्यूजले ट्रम्पलाई १५ मिलियन अमेरिकी डलर तिर्ने
प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँगको मानहानि मुद्दा टुंग्याउन एबीसी न्यूजले १५ मिलियन अमेरिकी डलर तिर्ने सहमति गरेको छ ।
यो विवाद एबीसी न्यूजका चर्चित एंकर जर्ज स्टेफानोफोलसले ट्रम्पलाई बलात्कारको दोषी पाइएको भन्दै झुटा अभिव्यक्ति दिएका कारण उत्पन्न भएको थियो ।
स्टेफानोफोलसले यो टिप्पणी १० मार्च २०२४ मा एबीसीको दिस विक कार्यक्रममा दक्षिण क्यारोलिनाकी रिपब्लिकन सांसद न्यान्सी मेसलाई ट्रम्पको समर्थनबारे प्रश्न गर्दा बारम्बार दोहोर्याएका थिए ।
तर, २०२३ मा न्युयोर्कको एक नागरिक अदालतले ट्रम्पलाई लेखक ई जीन क्यारोलप्रति यौन दुव्र्यवहार गरेकोमा दोषी ठहर गरेको थियो । जुन न्युयोर्कको कानूनी परिभाषाअनुसार बलात्कार भन्दा फरक छ ।
शनिबार भएको सम्झौताअनुसार एबीसीले स्टेफानोफोलसका अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै एक आधिकारिक वक्तव्य पनि प्रकाशित गर्नुपर्नेछ ।
सम्झौता अनुसार, एबीसी न्यूजले १५ मिलियन राष्ट्रपति ट्रम्पद्वारा स्थापना गरिने वा उनका लागि स्थापना हुने राष्ट्रपति फाउन्डेशन र संग्रहालयमा चन्दा स्वरूप तिर्नुपर्नेछ । साथै, ट्रम्पको कानूनी खर्चका लागि १ मिलियन पनि तिर्ने सहमति भएको छ ।
एबीसी न्यूजले १० मार्च २०२४ मा प्रकाशित उक्त अन्तर्वार्ताको अनलाइन लेखमा एक सम्पादकीय नोट थप्नेछ ।
२०२३ मा न्युयोर्कको एक नागरिक अदालतले ट्रम्पलाई १९९६ मा एक डिपार्टमेन्ट स्टोरको कोठामा ई जीन क्यारोलमाथि यौन दुव्र्यवहार गरेको ठहर गरेको थियो ।
अदालतले उनलाई क्यारोलमाथि गरेको अपमानजनक टिप्पणीका लागि पनि दोषी ठहर गरेको थियो ।
तर, न्यायाधीश लुइस क्याप्लानले क्यारोलले ट्रम्पले आफूलाई बलात्कार गरेको प्रमाणित गर्न नसकेको बताएका थिए । न्युयोर्क पेनल कानूनअन्तर्गत बलात्कारको परिभाषा अन्य कानूनी परिभाषा वा आधुनिक साधारण शब्दावलीभन्दा साँघुरो भएको उनले बताएका थिए ।
यसैबीच, ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अन्तर्वार्तामा भ्रामक व्यवहार गरेको आरोप लगाउँदै सीबीएसविरुद्ध पनि मुद्दा दायर गरेका छन् ।