अमेरिका र सहयोगीले भने : उत्तर कोरियाको युक्रेन युद्धमा संलग्नताले द्धन्द्धलाई खतरनाक बनायो
प्रकाशित मिति : पुस १, २०८१ सोमबार
युक्रेनबिरुद्ध उत्तर कोरियाको संलग्नताले द्वन्द्वको ‘खतरनाक विस्तार’ गरेको अमेरिका र सहयोगीहरूले बताएका छन ।
दश देश र युरोपेली सङ्घ इयु र अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको बढ्दो संलग्नतालाई ‘खतरनाक विस्तार’ भनिएको छ ।
उत्तर कोरियाले रुसको युद्ध प्रयासलाई बलियो बनाउन हजारौँ सेना पठाएको छ ।
तीमध्ये कुर्स्क सीमा क्षेत्रमा युक्रेनले सोमबार आफ्ना लडाकुहरूबाट कम्तीमा ३० उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको दावी गरेको छ ।
अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, अमेरिकाका विदेश मन्त्री र इयुका उच्च प्रतिनिधिले वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
उनीहरूले रूसले उत्तर कोरियाका हतियारहरू समावेश गैरकानूनी हतियार कार्यक्रमहरूलाई राजनीतिक, सैन्य वा आर्थिक सहयोग प्रदान गर्नसक्ने सम्भावनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको बताएका छन् ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसले आफ्ना सैन्य सम्बन्धहरू बलियो बनाएका छन् ।
विशेषज्ञहरूका अनुसार आणविक हतियार सम्पन्न उत्तर कोरियाका नेता किम जोङ उन रुसबाट उन्नत प्रविधि र आफ्ना सैनिकहरूका लागि युद्ध अनुभव प्राप्त गर्न उत्सुक रहेका छन ।
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले १० हजारभन्दा बढी सैनिक रुसमा पठाएको आरोप लगाएका छन् ।