युक्रेनमा उत्तर कोरियाली सैनिक मारिएको अमेरिकाको दावी


प्रकाशित मिति : पुस २, २०८१ मंगलबार

युक्रेनमा उत्तर कोरियाली सैनिकहरूले पहिलो पटक मारिएका छन् । अमेरिका र युक्रेनी सैन्य गुप्तचरले दिएको जानकारी अनुसार कम्तीमा ३० उत्तर कोरियाली सैनिक मारिएका हुन । केहि घाइते भएका छन् ।

पेन्टागनका अधिकारीहरूले पनि हताहत भएको पुष्टि गरेका छन । तर संख्या भने खुलाएका छैनन । पेन्टागनले उत्तर कोरियाली सैनिकहरूलाई कुर्स्क सीमा क्षेत्र वरपर इन्फेन्ट्रीको भूमिकामा प्रयोग गरिएको देखिएको बताएको छ ।

यो क्षेत्र रुसले युक्रेनबाट पुनः कब्जा गर्न खोजिरहेको छ । यसले संकेत गर्दछ कि सम्भवतः उत्तर कोरियाली सैनिकहरू युक्रेनको सीमाभन्दा पर तैनाथ भएका छैनन् ।

झण्डै दुई महिना पहिले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र दक्षिण कोरियाली अधिकारीहरूले प्योंगयाङले रूसको आक्रमणलाई समर्थन गर्न सैनिक पठाएको आरोप लगाएका थिए ।

रुस र उत्तर कोरियाले यस विषयमा प्रत्यक्ष रूपमा प्रतिक्रिया दिएका छैनन्। सैनिकहरूको संख्या सम्बन्धी अनुमान फरक छन् । पेन्टागनका अनुसार यो संख्या झण्डै ११ हजार जति हुन सक्छ ।

सुरुमा युद्धक्षेत्रको अनुभव नभएको कारणले उनीहरूलाई गैर युद्ध भूमिकामा खटाइने अनुमान गरिएको थियो । तर, अमेरिकी र युक्रेनी अधिकारीहरूले उत्तर कोरियाली सैनिकहरू युक्रेनी सेनासँग प्रत्यक्ष युद्धमा संलग्न भएको बताएका छन ।

उत्तर कोरियामा विश्वकै ठूलो सैन्य बलमध्ये एक छ । जसमा १२ लाख भन्दा बढि सक्रिय सैनिक छन् । तर, रूसी सेनाको विपरीत, कोरियन पिपुल्स आर्मी ले हालका दशकहरूमा कुनै प्रत्यक्ष युद्धको अनुभव गरेको छैन।

युक्रेनी र दक्षिण कोरियाली गुप्तचर सेवाहरूले भनेका छन् कि रूसमा तैनाथ धेरै सैनिकहरू उत्तर कोरियाका उत्कृष्ट सैनिक हुन । जो ११ औं कोरप्स बाट आएका हुन् । यो इकाई घुसपैठ, पूर्वाधार तोडफोड, र हत्या जस्ता कार्यमा प्रशिक्षण प्राप्त छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com