वरिष्ठ सैन्य जनरलको हत्याको आरोपमा उज्बेकिस्तानका नागरिक पक्राउ परेको रुसको दावी


प्रकाशित मिति : पुस ३, २०८१ बुधबार

रूसका अधिकारीहरूले वरिष्ठ जनरल इगोर किरिलोभ र उनका सहायकको हत्या आरोपमा एकजनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ परेका व्यक्ती २९ वर्षका उज्बेकिस्तानका नागरिक भएको बताइएको छ ।

रेडिएसन, रसायनिक, र जैविक संरक्षण बलका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ मंगलबार बिहान मस्कोको एक आवासीय भवन बाहिर भएको विष्फोटनमा मारिएका थिए ।

रूसको अनुसन्धान समितिका अनुसार संदिग्ध ति व्यक्तिले आफू युक्रेनी विशेष सेवाहरूद्वारा भर्ती भएको स्वीकार गरेका छन् । तर, समितिले यस दाबीलाई प्रमाणित गर्ने कुनै आधार भने प्रस्तुत गरेको छैन ।

यसअघि, युक्रेनको सुरक्षा सेवाले यो हत्या आफूले गराएको दाबी गरेको थियो । हत्याको अघिल्लो दिन युक्रेनले किरिलोभमाथि मुद्दा लगाउँदै उनलाई प्रतिबन्धित रसायनिक हतियारहरूको व्यापक प्रयोगको जिम्मेवार भनेको थियो । मस्कोले भने यी आरोप अस्वीकार गरेको छ ।

किरिलोभ २०२२ को फेब्रुअरीमा युक्रेनमाथि रूसको पूर्ण आक्रमण सुरु भएदेखि रूसभित्र हत्या गरिएका सबैभन्दा वरिष्ठ सैन्य व्यक्तिका रूपमा मानिन्छन् ।

उनलाई युक्रेनमा रसायनिक हतियारको प्रयोगको आरोपमा बेलायतले पनि प्रतिबन्ध लगाएको थियो । युक्रेनले किरिलोभको नेतृत्वमा ४ हजार ८०० भन्दा बढी पटक रसायनिक हतियार प्रयोग भएको आरोप लगाएको छ ।

मस्कोले भने यी आरोप अस्वीकार गरेको छ । २०१७ मा आफ्नो रसायनिक हतियार भण्डार पूर्ण रूपमा नष्ट गरेको दाबी गरेको छ । रूसको परराष्ट्र मन्त्रालयले किरिलोभको हत्या सम्बन्धी मुद्दा शुक्रबारको संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा उठाउने बताएको छ ।

रूसी अधिकारीहरूले यो हत्यामा संलग्नहरूलाई खोजेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com