जर्मनीका लागि नेपाली राजदूत डा. रुपाखेतीद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
प्रकाशित मिति : पुस ६, २०८१ शनिबार
सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल रुपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
प्रमाणपत्र पेस गरेपश्चात् राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीका क्रममा राजदूत डा. रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका थिए ।
त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसै वर्ष भएको भेटको सन्दर्भ र दुई देशबिचको वर्तमान सम्बन्धबारे चर्चा गरेका थिए ।
सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।