पूर्व रिपब्लिकन गेट्जविरुद्ध यौन क्रियाकलापका लागि महिलालाई रकम भुक्तानी गरेको आरोप
प्रकाशित मिति : पुस ८, २०८१ सोमबार
पूर्व रिपब्लिकन म्याट गेट्जले अमेरिकी कंग्रेसको सदस्य रहँदा यौनसम्बन्ध र लागूपदार्थमा हजारौं डलर खर्च गरेको आरोप लागेको छ । अमेरिकी प्रतिनिधि सभाको इथिक्स कमिटीको बहुप्रतीक्षित प्रतिवेदनले यसबारे खुलासा गरेको हो ।
यो प्रतिवेदन गेट्जविरुद्ध यौन दुराचार र अवैध लागूपदार्थको प्रयोगको आरोपमा भएको वर्षौंदेखिको अनुसन्धानपछि आएको हो । डोनाल्ड ट्रम्पले उनलाई अमेरिकाको न्यायाधिवक्ता बनाउन चाहेको समयमा यी घटनाहरू उजागर भएका थिए ।
प्रतिवेदनले २०१८ मा गेट्जले सीमा नाघेर उपहार लिएको प्रमाण पनि फेला पारेको छ । गेट्जले भने बारम्बार आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफूविरुद्ध षड्यन्त्र गरिएको बताएका छन् ।
विवादका बीच उनले अमेरिकी न्यायाधिवक्ता बन्ने उम्मेदवारी फिर्ता लिएका थिए ।
प्रतिवेदनका अनुसार गेट्जले यौनकर्म, बाल यौन दुराचार, अवैध लागूपदार्थको प्रयोग, गैरकानूनी उपहार, विशेष सुविधा र कंग्रेसलाई बाधा पुर्याउनेजस्ता कार्य गरेर सभाको नियम र आचरण मापदण्ड उल्लङ्घन गरेको पर्याप्त प्रमाण भेटिएको छ ।
२०१७ देखि २०२० सम्म गेट्जले यौन क्रियाकलाप र लागूपदार्थ प्रयोगका लागि १२ महिलालाई ९० हजार डलर भन्दा बढी रकम भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
गेट्जले २०१७ मा आयोजित पार्टीमा १७ वर्षकी किशोरीसँग यौन सम्पर्कका लागि ४०० डलर तिरेको भन्ने लथ्य पनि प्रतिवेदनमा उल्लेख छ ।
तर, गेट्जले नाबालिगसँग यौनसम्बन्ध राखेको आरोप अस्वीकार गरेका छन् । न्याय विभागले पनि गेट्जविरुद्ध नाबालिगसँग यौनसम्बन्ध राखेको आरोपमा अनुसन्धान गरेको थियो । तर फौजदारी अभियोग भने दायर गरेको थिएन ।
प्रतिवेदन सार्वजनिक हुन नदिन गेट्जले अन्तिम समयमा अदालतमा अस्थायी आदेश माग गरेका थिए । उनले इथिक्स कमिटीलाई व्यक्तिगत मामिलामा हस्तक्षेप गरेको आरोप समेत लगाएका छन ।
गेट्ज २०१६ मा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा प्रतिनिधि सभाका लागि निर्वाचित भएका थिए ।