दक्षिण कोरिया विमान दुर्घटना अपडेट : १७९ जनाको मृत्यु , चालक दलका २ सदस्यको उद्धार


प्रकाशित मिति : पुस १४, २०८१ आईतबार

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ । चालक दलका २ जना सदस्यको उद्धार गरिएको छ ।

विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्यहरु रहेका थिए । विमानमा १७३ जना कोरियाली र २ जना थाइल्याण्डका नागरिक थिए ।

दक्षिण कोरियाको यातायात मन्त्रालयले अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ । ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्याङ्क (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ छन् ।

दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

थाइल्याण्डको बैङ्ककबाट उडेको जेजु एयरको विमान रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई जना चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको हो ।

अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।

पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको खराबीको कारण विमानले ओभरसुट गरेको र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिंग’को साथ गरिएको थियो ।

दुर्घटनापछि दक्षिण कोरियामा एक साता लामो शोकको घोषणा गरिएको छ । दक्षिण कोरियामा आइतवार भएको जेजू एयर दुर्घटनाले १९९७ पछि देशमा भएको सबैभन्दा घातक हवाई दुर्घटना हो ।

कोरियन एयरको एक उडान गुआमको जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा २२८ जनाको मृत्यु भएको थियो । १९९७ पछि केही दुर्घटनाहरू भएका छन् ।

एभिएशन सेफ्टी नेटवर्कका अनुसार २००२ अप्रिलदेखि दक्षिण कोरियामा कुनै अन्य हवाई दुर्घटनामा मानवीय क्षति भएको थिएन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com