अमेरिकी जनतालाई कहिल्यै झूट नबोल्ने वाचा गर्दै राष्ट्रपति बनेका थिए कार्टर


प्रकाशित मिति : पुस १४, २०८१ आईतबार

जिम्मी कार्टर अमेरिकी जनतालाई कहिल्यै झूट नबोल्ने वाचा गर्दै राष्ट्रपति बनेका थिए । उनको १०० वर्षको उमेरमा निधन भएको छ ।

कार्टरले सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा कार्यसम्पादन गर्ने जिम्मेवारी प्राप्त गरे । उनी अमेरिकाको ३९ औँ राष्ट्रपति हुन ।

वाटरगेट स्क्यान्डलको अशान्त समयपछि जर्जियाका पूर्व मूँगफली किसान कार्टरले भियतनामको युद्धबाट बच्न भागेका व्यक्तिलाई आममाफी दिएका थिए ।

कार्टर जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिने पहिलो अमेरिकी नेता समेत हुन ।

अन्तर्राष्ट्रिय मञ्चमा उनले मिस्र र इजरायलबीच ऐतिहासिक शान्ति सम्झौता गराउन सहयोग गरे । तर, इरानको बन्धक संकट र अफगानिस्तानमा सोभियत संघको आक्रमणले उनको कार्यकाललाई चुनौती दियो ।

एक कार्यकालपछि १९८० को चुनावमा उनले मात्र छ वटा राज्य जिते । उनी रोनाल्ड रेगनसंग पराजित भए ।

ह्वाइट हाउस छोडेपछि, कार्टरले शान्ति, वातावरण र मानवअधिकारको लागि निरन्तर काम गरे । जसका लागि उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो ।

व्यक्तिगत जीवन र प्रारम्भिक दिनहरू

जर्जियाको प्लेन्समा जन्मिएका जिम्मी कार्टर चार सन्तानमध्ये जेठो थिए । उनका पिता मूँगफली व्यापारमा संलग्न थिए । उनकी आमा लिलियन नर्स थिइन् ।

उच्च शिक्षा अध्ययनका बेला बास्केटबल खेलाडी रहेका कार्टरले अमेरिकी नौसेनामा सात वर्ष सेवा गरे । विवाहपछि पिताको निधनले उनलाई परिवारको खेती सम्हाल्न १९५३ मा घर फर्कन बाध्य बनायो।

पहिलो वर्षको बाली खडेरीले विफल भए तापनि, उनले व्यापारलाई पुनः जिवन्त बनाए ।

राजनीतिक यात्रा र नागरिक अधिकारको अभियान

उनले स्थानीय विद्यालय र पुस्तकालय बोर्डबाट राजनीतिक यात्रा सुरू गरेका थिए । जर्जिया सिनेटमा दुई कार्यकाल सेवा गरेका उनले १९७० मा जर्जिया गभर्नर भएपछि नागरिक अधिकारको समर्थन गरे ।

उनले आफ्नो उद्घाटन भाषणमा जातीय भेदभावको समय समाप्त भएको छ भनेका थिए । उनले अफ्रिकी अमेरिकीहरूलाई सार्वजनिक पदहरूमा नियुक्त गरे ।

राष्ट्रपतिको कार्यकाल र चुनौतीहरू

१९७४ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्दा अमेरिकी जनता वाटरगेट स्क्यान्डलबाट आहत थिए । सरल किसानको रूपमा प्रस्तुत भएका कार्टरले भ्रष्ट राजनीतिबाट आफू अलग भएको देखाउन सके ।

कार्टरले कार्यालयको पहिलो दिन भियतनाम युद्धबाट बच्न भागेका मानिसहरूलाई माफी दिए । तर यो निर्णय भने विवादास्पद बनेको थियो ।

उनले महिलाहरूलाई महत्वपूर्ण प्रशासनिक पदहरूमा नियुक्त गरे । ऊर्जा संकट तथा जलवायु परिवर्तनसँग जुध्न कठोर उपायहरू अपनाए ।

तर, इरानको क्रान्ति र अफगानिस्तानमा सोभियत आक्रमणजस्ता चुनौतीहरूले उनको लोकप्रियतालाई भने घटायो ।

ह्वाइट हाउस पछि जीवन

कार्टरले पद छोडेपछि मानवअधिकार, शान्ति र विकासका क्षेत्रमा योगदान गरे । २००२ मा, उनले आफ्नो शान्ति प्रयासका लागि नोबेल पुरस्कार प्राप्त गरे ।

उनले साधारण जीवन बिताउन खोजे । आफ्नै पुरानो घरमा फर्किए । उनले ४ हजार भन्दा बढी घर मर्मत गर्ने मानव सेवा कार्यमा योगदान गरे ।

२०२३ मा ७७ वर्षसम्म साथ रहेकी उनकी पत्नी रोसलिनको निधन भयो । एक वर्षपछि १०० औँ जन्मदिन मनाउने क्रममा कार्टरले आफ्नो धार्मिक विश्वास र सार्वजनिक सेवाको सम्बन्धबारे चर्चा गरे ।

धार्मिक विश्वास र सार्वजनिक सेवा छुट्याउन सकिँदैन भन्ने मान्यता राख्ने कार्टर अव भने सधैका लागि अस्ताएका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com