विनाशको बाटोबाट पछि हट्न विश्वलाई राष्ट्रसङ्घको आग्रह
प्रकाशित मिति : पुस १५, २०८१ सोमबार
संयुक्त राष्ट्रसङ्घले विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ ।
राष्ट्रसङ्घीय मौसम र जलवायु एजेन्सीले एक दशकको अभूतपूर्व गर्मीलाई यो वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने भएको बताएको छ । सन २०२४ लाई अहिलेसम्मकै तातो बर्षको रुपमा रेकर्ड गरिएको छ ।
विश्व मौसम विज्ञान सङ्गठन डब्लुएमओ का अनुसार हरितगृह ग्यासको उत्सर्जन नयाँ रेकर्ड उचाइमा पुगेको बताएको हो । यसले भविष्यका लागि अझै बढी गर्मी सुनिश्चित गरेको देखिन्छ ।
सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १।५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो ।
नोभेम्बरमा डब्लुएमओले जनवरी–सेप्टेम्बरको औसत सतहको तापक्रम सन् १८५० र सन् १९०० को बीचमा मापन गरिएको पूर्व–औद्योगिक औसतभन्दा १।५४ डिग्री सेल्सियस रहेको बताएको थियो ।
यसले सन् २०२४ लाई सन् २०२३ मा कायम भएको रेकर्डलाई पार गर्ने बाटोमा सजिलै राखेको छ ।
मानवजातिले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन सुरु गरेयता गत वर्ष तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको भन्दा १।४५ डिग्री सेल्सियस बढी तातो थियो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२५ मा देशहरूले उत्सर्जनमा नाटकीय कटौती गरेर र नवीकरणीय भविष्यमा सङ्क्रमणलाई समर्थन गरेर विश्वलाई सुरक्षित मार्गमा राख्नु पर्ने बताए ।