रुस युक्रेन युद्ध : ग्यासको आपूर्ति रोकिदै, रुसको आम्दानी घट्ने


प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार

युक्रेन हुँदै युरोपेली संघ इयु का देशहरूमा ग्यास आपूर्ति बुधबारबाट रोकिने भएको छ ।

युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्तोगाज र रुसको गाजप्रोमबीच भएको पाँच वर्षे सम्झौता सकिएपछि ग्यासको आपूर्ति रोकिन लागेको हो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना देशवासीको रगतबाट रुसले थप अर्बौँ कमाउने अवस्था आफूहरूले स्वीकार नगर्ने बताएका छन् । उनले इयु लाई यस विषयमा तयारी गर्न एक वर्षको समय दिएका थिए ।

युरोपेली आयोगले भने युरोपको ग्यास प्रणाली लचिलो र सक्षम रहेको भन्दै युक्रेन हुँदै जाने ट्रान्जिट अन्त्य भए पनि समस्या नआउने विश्वास व्यक्त गरेको छ ।

रुसबाट ग्यास आपूर्ति कहाँ कहाँ जारी रहनेछ

रुसले टर्कस्ट्रिम पाइपलाइनमार्फत हंगेरी, टर्की र सर्बियातर्फ ग्यास आपूर्ति गर्न भने जारी राख्नेछ । इयु ले २०२२् मा रुसले युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेपछि रुसबाट ग्यास आयातमा ठूलो कटौती गरिसकेको छ ।

२०२३ सम्ममा इयु को ग्यास आयातमा रुसको हिस्सा १०% भन्दा कममा झरेको छ । जबकि २०२१ मा यो ४०% थियो । तर, स्लोभाकिया र अष्ट्रियाजस्ता केही इयु सदस्य देशहरूले अझै पनि ठूलो मात्रामा रुसको ग्यास आयात गरिरहेका छन् ।

विवाद र संकट

युक्रेनको निर्णयले स्लोभाकियासँगको सम्बन्धमा तनाव बढाएको छ । स्लोभाकियाले रुसको ग्यास इयु मा पठाउने मुख्य प्रवेश बिन्दुको रूपमा ट्रान्जिट शुल्कबाट आम्दानी गर्दै आएको थियो ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले, रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेर फर्किएपछि युक्रेनलाई विद्युत् आपूर्ति रोक्ने धम्की दिएका छन् ।

यसपछि राष्ट्रपति जेलेन्स्कीले उनलाई पुटिनलाई युद्धको लागि आर्थिक सहयोग पुर्याउन र युक्रेनलाई कमजोर बनाउन सहयोग गरिरहेको आरोप लगाए ।

पोल्यान्डले भने स्लोभाकियाले विद्युत् आपूर्ति रोक्दा युक्रेनलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ ।

मोल्डोभामा संकट

इयु सदस्य नभएको मोल्डोभामा पनि यस ट्रान्जिट सम्झौताले ठूलो असर पार्ने अनुमान गरिएको छ । मोल्डोभाको अधिकांश बिजुली आवश्यकता पूरा गर्ने पावर प्लान्ट यसै ग्यासमा निर्भर छ ।

मोल्डोभाका ऊर्जा मन्त्री कोन्स्टान्टिन बोरोसानले देशको ऊर्जा आपूर्ति स्थिर बनाउन कदम उठाएको बताए । तर, उनले नागरिकहरूलाई ऊर्जा बचत गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति माय्या सान्दुले रुसमाथि ब्ल्याकमेल को आरोप लगाउँदै यस कदमलाई २०२५ को आमनिर्वाचनअघि मोल्डोभालाई अस्थिर बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

इयु को वैकल्पिक योजना

युरोपले रुसको ग्यासमा निर्भरता घटाउँदै नर्वे, कतार र अमेरिकाबाट ल्याइने LNG ग्यास तथा युरोप भित्रकै विभिन्न पाइपलाइनहरू प्रयोग गर्न थालेको छ ।

युरोपेली आयोगले डिसेम्बरमा युक्रेन हुँदै आउने ग्यासको पूर्ण रूपमा प्रतिस्थापन गर्न इयु का सदस्य देशहरूलाई सक्षम बनाउने योजना अघि सारेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com