सन् २०२५ मा युक्रेनले ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा संघर्ष गर्छ : राष्ट्रपति जेलेन्स्की
प्रकाशित मिति : पुस १७, २०८१ बुधबार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका विषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताएका छन् ।
युक्रेनी नेताको सम्बोधनबाट यो बुझ्न सकिन्छ कि युद्धग्रस्त युक्रेनका लागि यो वर्ष निकै कठिन वर्ष हो, जसले करिब तीन वर्षदेखि राम्रो स्रोत साधन भएको रूसी सेनासँग लडिरहेको छ ।
एएफपीको एक विश्लेषणअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा रूसले सात गुणा बढी युक्रेनी भूभागमा अतिक्रमण गरेको छ र सन् २०२५ को मध्यतिर रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बागडोर सम्हाल्दा अमेरिकी सैन्य तथा राजनीतिक समर्थनमा कमी आउने सम्भावना छ ।
“आगामी वर्षमा हरेक दिन युक्रेन कमजोर छैन भनी पमाणित गर्न हामी सबैले युक्रेनको पक्षमा आ–आफ्नो स्थानबाट युद्धभूमि र वार्ताको टेबुल दुवैमा लड्नुपर्छ किनकि केवल यस्तो यूक्रेनले मात्र सम्मान पाउँछ र उसको आवाज सुनिन्छ,” जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने ।
“सन् २०२५ हाम्रो वर्ष होस् । यूक्रेनको बर्ष । हामी जान्दछौं हामीलाई उपहारको रूपमा कि शान्ति दिइनेछैन, तर हामी रूसलाई रोक्न र युद्ध अन्त्य गर्न सबै कुरा गर्नेछौँ । हामी सबै यही चाहन्छौँ,” उनले भने ।
अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले जनवरीमा ट्रम्पले कार्यभार सम्हाल्नुअघि किएभलाई समर्थन गर्ने होडमा युक्रेनका लागि करिब छ अर्ब अमेरिकी डलरको सैन्य र बजेट सहायताको घोषणा गरेको छ ।