अमेरिकाको न्यू ओर्लियन्स घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो, गाडीभित्र इस्लामिक स्टेट समूहको झन्डा
प्रकाशित मिति : पुस १७, २०८१ बुधबार
अमेरिकाको न्यू ओर्लियन्समा भएको १५ जनाको ज्यान लिने घटनामा संलग्न संदिग्ध व्यक्ति एक्लो नभएको अमेरिकी अनुसन्धानकर्ताहरूले दावी गरेका छन् ।
४२ वर्षीय अमेरिकी नागरिक शामसुद दिन जब्बारले व्यस्त न्यु ओर्लियन्स सडकमा भीडलाई ठक्कर दिन पिकअप ट्रक चलाएका थिए ।
त्यसपछि ट्रकबाट ओर्लिएर गोली चलाएको विश्वास गरिएको छ । जब्बारको घटनास्थलमै प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
एफबीआईका अनुसार जब्बारले चलाएको गाडीभित्र इस्लामिक स्टेट समूहको झन्डा भेटिएको छ । वरपर दुईवटा इम्प्रोभाइज्ड विस्फोटक उपकरण (आईईडी) पनि फेला परेको छ ।
एफबीआईका सहायक विशेष एजेन्ट एलेथिया डंकनले जब्बारलाई यो हमलामा पूर्ण रूपमा जिम्मेवार ठहर्याउन नमिल्ने बताउँदै यो घटनालाई आतंकवादी कार्य पनि हुनसक्छ भनेर अनुसन्धान भइरहेको जानकारी दिए ।
यो हमला न्यू ओर्लियन्सको फ्रेन्च क्वार्टरमा भएको थियो । जुन स्थान स्थानीय बासिन्दा र पर्यटकहरूको लागि चर्चित नाइटलाइफ क्षेत्र हो । घटना भइरहेको बेला त्यहाँ नयाँ वर्ष २०२५ मनाउन मानिसहरु भेला भएका थिए ।
ति व्यक्तिले सकेसम्म धेरै व्यक्तिलाई ठक्कर दिन खोजिरहेका न्यु ओर्लियन्स प्रहरी प्रमुख एनी किर्कप्याट्रिकले भनेकी छन । घटनास्थलबाट आवाज दबाउने उपकरण जडान गरिएको एक थान लामो बन्दुक बरामद गरिएको छ ।
जब्बारले चलाएको ट्रक टेक्ससबाट एउटा एपमार्फत भाडामा लिइएको विश्वास गरिएको छ ।
जब्बारको जन्म टेक्ससमा भएको थियो । उनी अमेरिकी सेनामा सेवा गरिसकेका थिए । उनले अमेरिकी सेनामा विभिन्न भूमिकामा काम गरेका थिए ।
जसमध्ये मानव संसाधन र आईटी पनि समावेश छन् । सेनाबाट बर्खास्त भएपछि उनले २०१५ देखि २०१७ सम्म जर्ज स्टेट युनिभर्सिटीमा कम्प्युटर इन्फर्मेसन सिस्टम्समा डिग्री हासिल गरेका थिए ।