अमेरिकाका दर्जनौं कम्पनीहरुलाई चीनमा प्रतिबन्ध लगाउने तयारी


प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

चीनले अमेरिकाका दर्जनौं कम्पनीहरुलाई प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ । यसले दुई महाशक्तिहरूबीच तनाव थपिन सक्ने संभावना देखिएको छ ।

रेथियोन, बोइङ र लकहिड मार्टिनजस्ता दर्जनौं कम्पनीहरूलाई लक्षित गर्दै दण्डात्मक व्यापार उपायहरू चीनले सार्वजनिक गरेको हो ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर तथा प्रतिबन्ध लगाउने वाचा गरेका थिए ।

त्यसको प्रतिवादमा चीनले जवाफी कदम चाल्न तयार रहेको देखाएको हो ।

चीनको वाणिज्य मन्त्रालयले २८ कम्पनीलाई राष्ट्रिय सुरक्षा र हितको संरक्षण गर्न निर्यात नियन्त्रणको सूचीमा थपेको बताएको छ ।

यसले नागरिक र सैनिक दुवै प्रयोजनका लागि प्रयोग गरिने वस्तुहरूको ती कम्पनीहरूसँगको निर्यात पनि बन्द गराएको छ ।

ताइवानलाई हतियार बिक्रीमा संलग्न १० कम्पनीहरूलाई अविश्वसनीय इकाइहरूको सूची मा राखेको छ ।

जसका कारण चीनमा व्यापार गर्न र तिनका कार्यकारीहरूलाई देश प्रवेश गर्न वा बसोबास गर्न प्रतिबन्ध लगाएको छ ।

कन्ट्रोल रिस्क्सका चीन विशेषज्ञ एन्ड्रयु गिलहोमका अनुसार कम्पनीहरूमध्ये धेरैको चीनमा सीमित उपस्थिति भएकोले यस्ता कदम अघिपछि पनि लिइएको थियो ।

चीनले उल्लेख गरेका कम्पनीहरूमा प्रमुख अमेरिकी रक्षा प्रणाली निर्माताहरू छन् ।

जसमा रेथियोन मिसाइल सिस्टम्स, बोइङ डिफेन्स, स्पेस एन्ड सेक्युरिटी, र लकहिड मार्टिन मिसाइल्स एन्ड फायर कन्ट्रोल छन् ।

ती कम्पनीहरूले आफनो प्रतिक्रिया दिएका छैनन ।

चीनका लागि अमेरिकी वाणिज्य चेम्बरका अध्यक्ष माइकल हार्टले चीनले सामान्यतः त्यस्ता कम्पनीहरूको व्यापारलाई प्रत्यक्ष असर नगर्ने प्रयास गरेको बताउँछन् ।
सामान्यतया, चीनले गर्ने कार्यले चीनको अर्थतन्त्रलाई फाइदा पुर्याउने कम्पनीहरूलाई असर गर्दैन हार्टले भने ।

चीनले ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकालमा थप आक्रामक रणनीति अपनाउने संकेत देखाएको छ । ट्रम्प चीन र यसको आर्थिक शक्तिका कट्टर आलोचक हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com