जलपंछी गणना शुरु हुँदै, नतिजा फ्रेवुअरीमा सार्वजनिक गरिने


प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज शनिबार देखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ ।

हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।

जनवरी ४ तारिखदेखि १९ सम्म पुस २० गतेदेखि माघ ६ गतेसम्म जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताउनुभयो ।

यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ ।

गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो ।

विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिने उहाँले बताउनुभयो ।

भारतीय महादिपमा एशियाली जलपंछी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो ।

यो कार्य शुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो । सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपंछी गणनाकार्य नियमितरुपमा हँुदै आएको छ ।

नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ ।

जलपंछी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको छ ।

गत वर्ष गरिएको जलपंछी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्र्तगत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार नौ सय जलपंछी रेकर्ड गरेका थिए ।

यीमध्ये छ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए ।

बरिष्ठ पछीविद पौडयालका अनुसार यस वर्षको गणनाप्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अबसरमा सार्वजनिक गरिने छ ।

स्थानीयरुपमा जलपंछी गणनाकार्य गर्नका लागि स्वयंसेवकको रुपमा देशभर २४ जनालाई साईट–कोअर्डिनेटरका रुपमा खटाइएको छ ।

उत्तरी धुव्र रुस, चीन, मङ्गोलियालगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनूकुल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजङगल क्षेत्रमा आउने गर्दछन् ।

उत्तरी धु्रवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजिमा नेपालमा आउने गर्दछन् ।

यहाँका ताल तलैया, नदीमा माछा, किराफटयाङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्नेकार्य सँगै सुरक्षित बासस्थान उपलव्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ ।

नेपालमा हिउँदमा बसाइँसराई गरी आउने जलपछीमा हाँसका विभिन्न प्रजाती, जलेवा, गङ्गाचीललगायत रहने गर्दछन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com