अमेरिकाको न्यू ओरलिन्स घटनामा मारिने मध्ये १ जना बेलायती नागरिक
प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार
अमेरिकाको न्यू ओरलिन्समा नयाँ वर्षको दिन भएको सवारी आक्रमणमा मृत्यु भएका मध्ये एकजना बेलायती नागरिक पनि भएको पुष्टि भएको छ ।
नयाँ वर्षको दिन न्यू ओरलिन्समा भएको सवारी आक्रमणमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
लन्डनको चेल्सी निवासी ३१ वर्षीय एडवर्ड पेटिफरको पहिचान मेट्रोपोलिटन प्रहरीद्वारा गरिएको बेलायतको विदेश कार्यालयले बताएको हो ।
न्यू ओरलिन्सको कोरोनरले एडवर्ड पेटिफरको मृत्युको प्रारम्भिक कारण टाउको र शरीरमा लागेको चोट भएको बताएका छन् ।
बेलायती विदेश राष्ट्रमण्डल र विकास कार्यालय (एफसीडीओ) ले पीडितको परिवारलाई सहयोग पुर्याइरहेको बताएको छ ।
आक्रमणका क्रममा एक व्यक्तिले पिकअप ट्रक सहरको बोरबन स्ट्रीटमा भिडमा चलाएर आक्रमण गरेका थिए । ती व्यक्तिलाई पछि प्रहरीले गोली हानी मारेको थियो।
यो आक्रमण ४२ वर्षीय टेक्सास निवासी र अमेरिकी सेनाका पूर्व सैनिक शमसुद दिन जब्बारले गराएको विश्वास गरिएको छ ।
ट्रकले भिडमा आक्रमण गरेपछि संदिग्धले ट्रकबाट निस्केर बन्दुक चलाएका थिए । त्यसपछि प्रहरीले उनलाई गोली हानेका थिए ।
एफबीआईले ट्रकभित्र इस्लामिक स्टेट समूहको झन्डा फेला परेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनास्थल नजिकै दुईवटा इम्प्रोभाइज्ड विस्फोटक उपकरण पनि फेला परेका थिए ।
घटनामा ३९ अन्य व्यक्ति घाइते भएका छन् । अहिलेसम्म उक्त घटनामा मारिने १४ जनाको पुष्टि भएको छ ।