रातको १२ बजेको त्यो फोन र बुढीआमाले दिएको दुई सय रुपैयाँले गणेशमा थपेको उत्साह
प्रकाशित मिति : पुस २१, २०८१ आईतबार
घडीमा रातको १२ बजेको थियो, फोनको लगातार घण्टी बज्यो ।
फोनमा अत्तालिएको आवाज सुनियो – ‘छिटो आउनु न, हामी सबै परिवार रोडमा छौँ। घरमा सर्प पस्यो ।’
गणेश श्रेष्ठले फोनबाटै ढाडस दिँदै भने, ‘नडराउनु, म आउँछु ।’
त्यहाँ पुगेर उनले विषालु सर्प किङ कोब्रालाई घरबाट बाहिर निकाले । परिवारलाई सुरक्षित रूपमा घरभित्र पु¥याएर फर्कन लाग्दा, एक जना बुढी आमाले पटुकामा बाँधेर राखेको दुई सय रुपैयाँ निकालेर दिँदै भनिन्, ‘बाबु, तपाईँ हाम्रो लागि भगवान् हो ।’
यो क्षणले गणेशलाई भावुक मात्र बनाएन, उनको कामप्रति अझै ठुलो उत्साह थप्यो । उनले त्यो दिनको घटना सुनाउँदै भने, ‘आमाको मायाले निकै भावुक बनायो । आमालाई दुई सय थप गरेर दिएर आमाको आर्शिवाद लिई घर फर्किएँ । त्यो दिन म कहिल्यै बिर्सिने छैन ।’
सर्प र मानवबिचको सह–अस्तित्वलाई कायम गर्दै इकोसिस्टम र वातावरणलाई स्वच्छ राख्नुपर्छ भन्ने उद्देश्य राखेर काम गर्ने गणेश श्रेष्ठ पूर्वी नेपालको चिर परिचित नाम हो ।
४ हजार विषालु सर्पको उद्धार
गणेश विगत ९ वर्षदेखि यस कार्यमा निरन्तर लागिरहेका छन् । यसबिचमा उनले हजारौैं घरबाट विषालु सर्पको उद्धार गर्ने र मानिसको ज्यान बनाउने काम गरिरहेका छन् । उनले अहिलेसम्म करिब ४ हजार विषालु सर्पको उद्धार गरेको बताउँदै भने, ‘अन्य सर्प त कति उद्धार गरियो हिसाब छैन । बाँकी सर्पसँग त म खेल्छु ।’
उनले गाउँ—गाउँमा पुगेर सर्प र पर्यावरणीय सन्तुलनबारे सचेतना फैलाउँदै आएका छन् । उनका अभियानहरूले विशेष गरी युवाहरूलाई प्रेरित गरेको छ । गणेश भन्छन्, ‘ यदि हामीले सर्पलाई जोगाउन सकेनौँ भने, पर्यावरणीय सन्तुलनमा ठुलो असर पर्छ ।’
‘तन्त्र–मन्त्र वा झाँक्रीको उपचारले ज्यान बचाउँदैन’
गणेशले समाजमा व्याप्त अन्धविश्वास हटाउनका लागि सर्प उद्धार गरेपछि वरपरका गाउँलेहरूलाई जम्मा गरेर विषालु सर्प र विष नहुने सर्पका बिचको भिन्नता समेत बुझाउने गर्दछन् ।
सर्पले डसेको अवस्थामा झारफुक वा तन्त्र–मन्त्रले उपचार हुन्छ भन्ने मान्यता खतरनाक रहेको र यसले धेरैको समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना गरेको उनी बताउँछन् ।
गणेशको ‘सर्पले टोकेपछि तुरुन्त अस्पताल जानुहोस् । तन्त्र–मन्त्र वा झाँक्रीको उपचारले ज्यान बचाउँदैन ।’ भन्ने सन्देशले मानिसहरूमा सचेतना ल्याउन र सर्पसँग सम्बन्धित अन्धविश्वास हटाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
सर्पको बारेमा जानकारी दिँदै गणेशले भने, ‘विषालु सर्पले टोकेको ठाउँमा दुई वटा दाँतको छाप हुन्छ र दुई ठाउँबाट रगत बग्छ । जबकि, विष नभएको सर्पले टोकेको अवस्थामा धेरै ठाउँबाट रगत बग्न सक्छ, काँडाले कोतारेको जस्तो देखिन्छ । यी फरक चिन्हहरू बुझ्न महत्त्वपूर्ण छ ।’
समाज र राज्यको सहयोगको खाँचो
गणेशका अनुसार सर्पको उद्धार भनेको केवल घरदेखि जङ्गलसम्म सुरक्षित रूपमा स्थानान्तरण गर्ने प्रक्रिया मात्र हो । तर, यस कार्यलाई प्रभावकारी बनाउन जनचेतना र राज्यको सहयोग अपरिहार्य छ ।
उनी भन्छन्, ‘राज्यले सर्प उद्धारकर्ताहरूलाई आवश्यक सहयोग गर्न जरुरी छ । अहिलेसम्म हामीले आफ्नो खर्चमा यो काम गरिरहेका छौँ । यदि सक्नेहरूले उद्धारका क्रममा प्रयोग हुने सामग्री उपलब्ध गराइदिए पनि ठुलो सहयोग हुने थियो । हामी घरमा पसेको विषालु सर्पको उद्धार गर्दा ज्यान हत्केलामा राखेर काम गर्नुपर्छ । किन कोब्राले टोक्यो भने १५ मिनेटमा ज्यान जान्छ । मेरो धेरै साथीहरू मृत्युको मुखबाट फर्कनु भएको छ । गर्मीको समयमा उद्धार गर्दा दिनमा हामीलाई ७÷८ वटा सर्पले टोक्छन् । तर, भगवान्को कृपाले अहिलेसम्म विषालु सर्पले डसेको छैन ।’
गणेश छिमेकी देश भारतको उदाहरण दिँदै भन्छन्, ‘भारतमा त्यहाँको सरकारले सर्प उद्धारकर्ताहरूलाई यातायातको सुविधा, औषधि उपचार र उद्धारको क्रममा आवश्यक पर्ने सबै सामग्री उपलब्ध गराएको छ । तर, हाम्रो देशमा यस्तो कुनै व्यवस्था छैन । हामी सर्प उद्धारकर्ता मात्र होइन, धेरै मानिसको ज्यान पनि बचाएका छौँ । यसर्थ, हाम्रो भूमिकाको उचित मूल्याङ्कन गर्दै आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन राज्यको ध्यान जानुपर्छ ।’
उनी थप्छन्, ‘सामान्यतया जनताले राज्यका निकायलाई खोज्नुपर्ने हो । तर, हामीलाई खोज्नु हुन्छ । यसले हाम्रो कामको महत्त्व देखाउँछ । म चाहन्छु कि राज्यले हाम्रो यो योगदानलाई आधिकारिक रूपमा मान्यता देओस् । म त भन्छु, सक्नेले उद्धारका क्रममा आवश्यक पर्ने सामग्री सहयोग गरिदिनुहोस् । यसले हाम्रो कामलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ ।’
गणेशले आफ्नो अनुभवका आधारमा सर्प उद्धार कार्य र मानव जीवनको रक्षा गर्न राज्य र समाजको सहकार्य अपरिहार्य भएको बताउँछन् ।
गाउँघरका आफ्ना अनुभवहरू सुनाउँदै उनी थप्छन्, ‘हामी जब घरभित्र पसेको सर्प निकाल्न जान्छौँ, गाउँका आमा–बुबाहरूले सोध्नु हुन्छ, ‘तपाईँहरूलाई सर्पले टोकेमा केही हुँदैन?’ उहाँहरूका यी प्रश्नहरूबाट सर्पप्रतिको डर र भ्रम झल्किन्छ । हाम्रो उद्देश्य भनेकै यस्ता भ्रम हटाउनु र सही जानकारी दिनु हो ।’
सर्प उद्धारका क्रममा गणेशले सर्पको प्रकृति र व्यवहारबारे जनतालाई जानकारी दिनुका साथै उनीहरूलाई सुरक्षित रहने उपाय सिकाउँदै आएका छन् ।
‘किङ कोब्रा उद्धार गर्नु सबैभन्दा कठिन र खतरनाक हुन्छ । यसलाई घरबाट सुरक्षित रूपमा निकाल्ने क्षणदेखि जङ्गलमा पु¥याएर छोड्दासम्म उत्तिकै जोखिम हुन्छ । तर, यी सबै चुनौतीहरूको सामना गर्दै हामी आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्ने प्रयास गर्छौँ । हाम्रो मुख्य उद्देश्य सर्प र मानव दुवैको जीवन सुरक्षित राख्नु हो ।’, गणेश भन्छन् ।