हिउँदे आँधीको चपेटामा अमेरिका : सात राज्यमा संकटकाल घोषणा, ६ करोड मानिस प्रभावित
प्रकाशित मिति : पुस २१, २०८१ आईतबार
अमेरिकामा भीषण हिउँदे आँधीका कारण ७ राज्यमा संकटकाल घोषणा गरिएको छ । हिउँदे आँधीका कारण झण्डै ६ करोड मानिस प्रभावित भएका छन् ।
केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कन्सास, अर्कान्सास, न्यु जर्सी, र मिसौरीसहित धेरै राज्यहरूले संकटकालको घोषणा गरेका छन् ।
यी राज्यहरूका लगभग सबै राजमार्गहरूमा हिउँ जमेकाले सडक बन्द गरिएको छ । प्रशासनले सडक मार्ग प्रयोग नगर्न चेतावनी दिएको छ ।
हजारौं उडानहरू रद्द गरिएका छन् । विद्यालयहरू बन्द गरिएका छन्। भारी हिउँपात र न्यूनतम तापक्रमले विगत एक दशकको रेकर्ड तोडेको छ ।
कन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित भएका क्षेत्र हुन् । त्यहाँ केही स्थानहरूमा आइतबार दिउँसोदेखि १० इन्चसम्म हिउँ परेको छ ।
पछिल्ला ३२ वर्षमा १० इन्चभन्दा बढी हिउँ परेको यो पहिलो पटक हो । मौसम विभागका अनुसार देशको मध्य भागदेखि पूर्वी तटीय क्षेत्रसम्मका करिब ३० अमेरिकी राज्यहरूमा अवस्था गम्भीर हुन सक्ने चेतावनी दिइएको छ ।
मौसमविद्हरूले खराब मौसमको कारण आर्कटिक क्षेत्रमा चिसो हावाको प्रवाहले यो अबस्था सृजना गरेको हो। वासिंगटन डीसी र फिलाडेल्फियालगायतका ठूला शहरहरू भारी हिउँपातको चपेटामा पर्ने सम्भावना छ ।
मिसिसिपी र फ्लोरिडा जस्ता क्षेत्रहरूमा खतरनाक अवस्था आउनसक्ने भन्दै चेतावनी दिइएको छ । ति क्षेत्रहरुमा चिसो हावाको अनुभव हुँदैन ।
यो ठूलो हिउँदे आँधीले पछिल्लो दशकमा सबैभन्दा धेरै हिउँ र चिसो तापक्रम ल्याउन सक्ने अनुमान गरिएको छ । जसले करोडौं अमेरिकीलाई प्रभावित गर्नेछ ।
राष्ट्रिय मौसम सेवा का अनुसार आँधी मध्य अमेरिकाबाट सुरु भई अर्को केही दिनमा पूर्वतर्फ सर्नेछ । पूर्वानुमानकर्ता ड्यान डि पोडविनले यो जनवरी २०११ यता कै सबैभन्दा चिसो महिनाको रूपमा देखिन सक्ने बताएका छन ।
मौसम विभागले सोमबारदेखि खराब मौसमबाट राहतको आशा गरिएको बताएको छ ।