अमेरिकामा हिमपात र चिसो हावाले ५ जनाको मृत्यु , दर्जनौ स्थानमा दुर्घटना
प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार
अमेरिकामा हिमपात र चिसो हावाको आँधीले पाँच जनाको मृत्यु भएको छ । स्कूल बन्द, यात्रा अस्तव्यस्त र विद्युत कटौती भएको छ । यस आँधीले देशको ठूलो भागलाई प्रभावित बनाएको छ । जसका कारण स्कूलहरू बन्द भएका छन्, यात्रा अस्तव्यस्त भएका छन । लाखौँ मानिसहरू विद्युत् बिना बस्न बाध्य भएका छन् ।
मेरिल्यान्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी, र अर्कान्सस गरी सात अमेरिकी राज्यहरूले संकटकाल घोषणा गरेका छन् ।
आँधीका कारण २ हजार ३ सय भन्दा बढी उडानहरू रद्द भएका छन् । जबकि ९ हजार भन्दा बढी उडानहरू ढिला भएका छन् । यस परिस्थितिको मुख्य कारण उत्तरी ध्रुवको चिसो हावाको प्रभावलाई मानिएको छ ।
पावर आउटेज डट यूएसका अनुसार, सोमबार राति २ लाखभन्दा बढी मानिसहरू आँधी प्रभावित क्षेत्रमा विद्युत् बिना बस्न बाध्य भए । राष्ट्रिय मौसम सेवाका अनुसार, मंगलबारसम्म देशको उत्तरपूर्वी क्षेत्रमा हिमपात र असिना पर्ने सम्भावना छ ।
यद्यपि आँधीको प्रभाव कम भए पनि चिसो आर्कटिक हावा केही सातासम्म जारी रहनेछ । वाशिंगटन डीसीमा सोमबार करिब ५ देखि ९ इन्च सम्म हिमपात भएको छ ।
छिमेकी मेरिल्यान्ड र भर्जिनियाका केही स्थानहरूमा १ फिटसम्म हिमपात भएको छ । सोमबारदेखि स्कूल खुल्ने तयारीमा रहेका बालबालिका विद्यालय जान नसकेका कारण ‘हिउँ बिदा’ मा छन् ।
मेरिल्यान्डदेखि कान्साससम्मका स्कूल जिल्लाहरू बन्द भएका छन् । अमेरिकाको न्युयोर्कलगायत अरु विभिन्न ठाउँमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित बनाएको छ ।
मिसौरीमा राजमार्गमा ३६५ भन्दा बढी दुर्घटना भएका छन् । जसमा १ जनाको ज्यान गएको छ । दर्जनौं घाइते भएका छन । कान्सास सबैभन्दा प्रभावित राज्यहरूमध्ये एक भएको छ ।
त्यहाँ आँधीका कारण कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । टेक्सासको ह्युस्टनमा एक व्यक्तिको बस स्टपमा चिसोको कारण मृत्यु भएको छ ।
भर्जिनियामा ३०० कार दुर्घटनाको रिपोर्ट गरिएको छ । कम्तीमा एक चालकको मृत्यु भएको छ ।
यो आँधीले अमेरिकाको धेरै भागलाई ठुलो असर पारेको छ । विशेषज्ञहरूले चिसो हावाबाट सुरक्षित रहन नागरिकहरूलाई सतर्क गराइरहेका छन् ।