भूकम्पका कारण तिब्बतमा ५३ जनाको मृत्यु , प्रहरी भन्छ : नेपालमा धक्का मात्रै
प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार
चीनको तिब्बत क्षेत्रमा भूकम्पका कारण कम्तिमा ५३ जनाको मृत्यु भएको छ । ६२ जना घाइते भएका छन ।
मंगलबार बिहान चीनको तिब्बत क्षेत्रमा आएको ठूलो भूकम्पका कारण कम्तीमा ५३ जनाको मृत्यु भएको पुष्टि भएको हो । ६२ जना घाइते भएका चिनियाँ सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
भूकम्प तिब्बतको पवित्र शिगात्से सहरमा स्थानीय समयअनुसार बिहान ९ बजे बजे आएको थियो ।
अमेरिकी भूगर्भ विभागका अनुसार, भूकम्पको तीव्रता ७.१ र गहिराइ १० किलोमिटर रहेको छ । त्यस क्षेत्रमा विभिन्न परकम्पहरू पनि महसुस गरिएको छ ।
भूकम्पको धक्का छिमेकी नेपाल र भारतका केही भागमा पनि महसुस गरिएको थियो ।
शिगात्से तिब्बतको पवित्र सहरमध्ये एक हो । यो पञ्चेन लामाको परम्परागत आसन हो । जसलाई तिब्बती बौद्ध धर्ममा दलाई लामापछिको दोस्रो उच्च धार्मिक व्यक्तित्व मानिन्छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले भूकम्पको तीव्रता ६.८ भएको बताउँदै १हजार भन्दा बढी घरहरूमा क्षति पुगेको जनाएका छन । सामाजिक सञ्जालमा भवनहरू भत्किरहेको दृश्यहरू सेयर गरिएको छ ।
चिनियाँ वायुसेनाले प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि ड्रोनहरू पठाएको छ । यो क्षेत्र माउन्ट एभरेस्टको फेदमा पर्छ र जहाँ तापक्रम निकै कम छ । उक्त क्षेत्रमा विद्युत् र पानी आपूर्ति पूर्ण रूपमा बन्द भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यलाई तीव्र बनाउन र प्रभावितलाई पुनर्स्थापित गर्न निर्देशन दिएका छन् । भूकम्पको धक्का नेपालमा पनि महसुस भए पनि कुनै क्षति वा मानवीय हताहती नभएको नेपाल प्रहरीले बताएको छ ।
तिब्बत क्षेत्र भारतीय र युरेसियाली टेक्टोनिक प्लेटको मुख्य भौगर्भिक दरारमा रहेको छ । जसका कारण त्यहाँ बारम्बार भूकम्प जाने गर्छ ।
२०१५ मा नेपालको काठमाडौं नजिकै गोर्खाको बारपाक केन्द्र विन्दु बनाएर आएको ७.८ रेक्टर स्केल तीव्रताको भूकम्पले करिब ९ हजार जनाको ज्यान लिएको थियो । २० हजार भन्दा बढी घाइते भएका थिए।