राजीनामा दिएपछि ट्रुडोले भने : क्यानडा अमेरिकाको हिस्सा कहिल्यै बन्ने छैन


प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

क्यानडाका नेताहरूले क्यानडा कहिल्यै पनि अमेरिकाको हिस्सा नबन्ने बताएका छन ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र ग्रीनल्यान्डलाई अमेरिकी राज्य बनाउने अभिव्यक्ति दिएपछि क्यानडामा राजनीतिक तरंग सिर्जना भएको छ ।

ग्रीनल्यान्डले यसअघि नै ट्रम्पको बयानको खण्डन गरिसकेको थियो । तर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालसम्म यसबारे केही टिप्पणी गरेका थिएनन् ।

तर, प्रधानमन्त्री पदबाट राजीनामा दिएको एक दिनपछि बुधबार ट्रम्पको भनाइलाई लिएर ट्रुडोले आफ्नो प्रतिक्रिया दिएका छन् । ट्रुडोले सामाजिक सञ्जाल X मा लेखेका छन्, “क्यानडा कहिल्यै अमेरिका को हिस्सा बन्नेछैन । यो असम्भव कुरा हो।”

उनले थपे,”हाम्रो दुवै देशका श्रमिक र समुदायले संसारकै ठूलो व्यापारिक र सुरक्षात्मक साझेदारीबाट लाभ लिइरहेका छन्।”

ट्रुडोको प्रतिक्रिया पछि क्यानडाको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टीका नेता पिएरे पोइलिएभ्रेले पनि ट्रम्पको भनाइलाई खारेज गरेका छन ।

पिएरेले भने, “क्यानडा एक महान् र स्वतन्त्र देश हो । हामी अमेरिकाका सबैभन्दा नजिकका मित्र हौं । तर, हामी कहिल्यै अमेरिकाको ५१ औं राज्य बन्ने छैनौं ।”

तर, उनले ट्रम्पको बयानको सन्दर्भमा ट्रुडो नेतृत्वको एनडीपी लिबरल गठबन्धन सरकारलाई कमजोर भएको आरोप लगाए ।

कमजोर एनडीपी लिबरल सरकारले यी कुरा स्पष्ट रूपमा बताउन सकेन । तर, म क्यानडाका लागि लड्नेछु। प्रधानमन्त्री भएपछि, हामी क्यानडाको सेना पुनः निर्माण गर्नेछौं र हाम्रो सीमाको रक्षा गर्नेछौं उनले लेखेका छन ।

एनडीपीका नेता जगमीत सिंहले पनि ट्रम्पको अभिव्यक्तिको विरोध गरेका छन् । सिंहले X मा लेखे, “यदि तपाईंले क्यानडाका नागरिकका रोजगारलाई खतरा पुर्याउनुहुन्छ भने, यसको असर अमेरिकामाथि पनि पर्न सक्छ।”

ट्रम्पले क्यानडासँगको सीमामा सुरक्षा बढाउन आग्रह गर्दै अन्यथा कर लगाउने धम्की दिएका छन् । यो धम्कीले क्यानडाको राजनीतिक संकटलाई थप गम्भीर बनाएको छ ।

प्रधानमन्त्री ट्रुडोले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । तर लिबरल पार्टीको नयाँ नेता चयन नहुँदासम्म पदमा रहनेछन् । यो राजनीतिक अस्थिरताको बीच क्यानडा अमेरिका व्यापारमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।

दुवै देशका बीच दैनिक २.५ अर्ब अमेरिकी डलरको व्यापार हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । तर ट्रम्पले कर लगाउने सम्भावनाले क्यानडाको अर्थतन्त्रलाई ठूलो हानि पुर्याउन सक्ने संकेत गरिएको छ ।

डिसेम्बरमा ट्रम्पले क्यानडालाई अमेरिका को ५१ औं राज्य बनाउने र ट्रुडोलाई गभर्नर नियुक्त गर्ने कुरा दोहोर्याएका थिए ।

उनले ट्रुथ सोशल मा लेखेका थिए,”क्यानडाका नागरिक भारी करदाताको रूपमा पीडित छन् । यदि क्यानडा अमेरिका को हिस्सा बन्यो भने, करमा ६० प्रतिशत कटौती हुनेछ र व्यापार पनि दोगुना हुनेछ।”

ट्रम्पको यस्तो धारणा र प्रतिक्रिया क्यानडामा चर्को विरोधका बीच आएको छ । क्यानडाका नेताहरूले क्यानडाको स्वतन्त्रता र सार्वभौमसत्तालाई चुनौती दिने कुनै पनि प्रयास अस्वीकार्य रहेको स्पष्ट रूपमा बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com