ट्रम्पलाई हराएर पुनः निर्वाचन जित्ने सम्भावना आफुसंग रहेको बाइडेनको दावी
प्रकाशित मिति : पुस २४, २०८१ बुधबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूमा डोनाल्ड ट्रम्पलाई हराएर पुनः निर्वाचन जित्ने सम्भावना रहेको बताएका छन् ।
बाइडेनले भने, “अहिलेसम्म ठिकै छ, तर म ८६ वर्षको हुँदा कस्तो हुनेछु भन्ने थाहा छैन ।” ८२ वर्षीय बाइडेनले चार वर्षे कार्यकालका लागि शारीरिक रूपमा पर्याप्त बल हुनेछ वा हुने छैन भन्ने विषयमा अनिश्चित रहेको पनि बताए ।
अन्तर्वार्तामा उनले डोनाल्ड ट्रम्पका आलोचकहरूलाई पूर्व उन्मुक्ति दिन सक्नेबारे विचार गरिरहेको जानकारी दिए । ती आलोचकहरूमा पूर्व रिपब्लिकन सांसद लिज चेनी र पूर्व स्वास्थ्य अधिकारी डा एन्थोनी फाउची पनि छन् ।
बाइडेनले भने, ट्रम्पसँग नोभेम्बरको निर्वाचनपछि ओभल अफिसमा भएको भेटमा उनले सम्भावित उन्मुक्तिबारे “धेरै स्पष्ट” कुरा राखेका थिए ।
मैले स्पष्ट रूपमा भनेँ कि यो आवश्यक छैन र ट्रम्प का लागि पुराना विवाद समाधान गर्न प्रयास गर्नु उनको हितमा छैन बाइडेनले भने ।
ट्रम्पले यसबारे कुनै प्रतिवाद नगरेको र शान्तिसाथ सुनेको उनले थपे । बाइडेनले भने, उन्मुक्तिको अन्तिम निर्णय ट्रम्पले आफ्नो मन्त्रिपरिषद्का लागि छनोट गर्ने व्यक्तिहरूमा निर्भर गर्नेछ ।
ट्रम्पले आफ्नो आर्थिक रेकर्डको प्रशंसा गरेका थिए । ट्रम्पले सोचेका थिए कि म राम्रो रेकर्डका साथ पद छोड्दै छु, बाइडेनले भने ।
युएसए टुडेमा प्रकाशित अन्तर्वार्ता हालसम्म बाइडेनले कुनै प्रिन्ट मिडियालाई दिएको एक मात्र अन्तर्वार्ता हो ।
ह्वाइट हाउसले बाइडेनको मिडिया पहुँच कडाइका साथ नियन्त्रण गरेको छ । जुलाई २१ मा दौडबाट बाहिरिएको घोषणा गरेपछि उनले कुनै पनि पत्रकार सम्मेलन गरेका छैनन् ।
बाइडेनले आफ्नो छोरा हंटर बाइडेनलाई कर छली र गैरकानुनी रूपमा बन्दुक खरिद गरेको आरोपमा बिना शर्त उन्मुक्ति दिएको निर्णयको बचाउ गरे । यद्दपी उनले यसअघि बारम्बार यस्तो नगर्ने बताउँदै आएका थिए ।
१९७२ मा अमेरिकी सिनेटरका रूपमा राजनीतिक यात्रा सुरु गरेका बाइडेनलाई आफ्नै पार्टीका नेताहरूले उमेर र मानसिक क्षमता बारे चिन्ता व्यक्त गर्दै आलोचना गरेका थिए ।
बाइडेनले भने, जब ट्रम्प पुन निर्वाचनका लागि दौडिरहेका थिए, मैले उनलाई हराउन सबैभन्दा राम्रो सम्भावना भएको महसुस गरेँ । तर म ८५ वा ८६ वर्षको उमेरमा राष्ट्रपति हुने सोचिरहेको थिइनँ उनले भनेका छन ।