अमेरिकाले फेब्रुअरी १ देखि क्यानडा र मेक्सिकोका उत्पादनमा २५ प्रतिशत कर लगाउने
प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयातित वस्तुहरूमा १ फेब्रुअरीबाट सीमा शुल्क लगाउने आफनो अडान यथावत रहेको बताएका छन ।
ट्रम्पको यो पछिल्लो अभिव्यक्तिसँगै क्यानडा र मेक्सिकोबाट आयात हुने बस्तुहरुमा २५ प्रतिशत सीमा कर फेब्रुअरी १ बाट लागू हुने भएको हो ।
क्यानडा र मेक्सिकोबाट आयात हुने तेलमा पनि यो शुल्क ट्रम्पले लागू गर्ने हुन या होइनन भन्ने अझै निश्चित भएको छैन।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कदम अमेरिकी सीमामा कागजातविहिन आप्रवासीहरूको ठूलो संख्या र फेन्टानिलको प्रवेशलाई रोक्नका लागि उठाइएको बताए । साथै क्यानडा र मेक्सिकोसँगको व्यापार घाटालाई कम गर्नका लागि पनि यो शुल्क आवश्यक रहेको उनको दावी छ ।
उनले चीनमाथि नयाँ शुल्क लगाउने योजनाबाट अझैपछि नहटेको बताएका छन । यस महिना सुरुमा १० प्रतिशत शुल्क लगाउने बताएका थिए । तर कारण भने उनले खुलाएका छैनन ।
ट्रम्पले चीनको फेन्टानिलपनि क्यानडा र मेक्सिको हुँदै अमेरिका आइरहेको दावी गरे । फेन्टानिलका कारण हजारौंले ज्यान गुमाउनु परिरहेको भन्दै चीनलाई पनि शुल्क लगाउनु पर्ने बताएका हुन ।
निर्वाचन अभियानको क्रममा ट्रम्पले चीनमा बनेका उत्पादनहरूमा ६० प्रतिशत सम्म कर लगाउने धम्की दिएका थिए ।
२०१८ देखि चीनबाट अमेरिकी सामानहरूको आयात स्थिर भएको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा एकपछि अर्को गर्दै बढाएका करहरूको कारण भएको यो अवस्था आएको अर्थसास्त्रीहरुले बताएका छन ।
चीनले व्यापार तनावहरूको समाधानको लागि ‘विन विन’ समाधानको अपिल गरेको छ । क्यानडाले कर युद्ध रोक्नका लागि ट्रम्पलाई मद्दत गर्ने प्रस्ताव गरेको छ ।
क्यानडा र मेक्सिकोले यदि अमेरिकाले सीमा शुल्क लगायो भने उनीहरूले आफ्नो तर्फबाट जवाफी कदमहरु चाल्ने बताएका छन । ट्यारिफ अर्थात सीमा शुल्क भनेको विदेशी उत्पादनमा लगाइने कर हो ।
अमेरिकी तेल रिफाइनरीहरूमा चल्ने कच्चा तेलको लगभग ४० प्रतिशत आयात गरिन्छ । यसको ठूलो हिस्सा क्यानडाबाट आयात हुने गरेको छ ।