परोपकारी अर्बपति अगा खानको निधन
प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

परोपकारी अर्बपति र आध्यात्मिक नेता अगा खानको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा पोर्चुगलको लिस्बनमा निधन भएको हो । उनको च्यारिटी अगा खान डेभलपमेन्ट नेटवर्कले मृत्युको घोषणा गरेको हो ।
प्रिन्स करिम अगा खान इस्माइली मुस्लिम समुदायका ४९ औं वंश हुन । उनको वंशावली सिधै पैगम्बर मुहम्मदसँग जोडिएको छ ।
स्विट्जरल्याण्डमा जन्मेका अगा खानसँग ब्रिटिश नागरिकता थियो । तर उनी फ्रान्समा बस्दथे।
राजा चार्ल्स तृतियले परोपकारी अर्बपतिको निधनले दुखीत बनाएको बताएका छन । अगा आफु र आमा, दिवंगत महारानी एलिजाबेथ द्वितीयका साथी थिए भनेर स्मरण पनि राजा चाल्र्सले गराएका छन ।
अगा खानका च्यारिटीहरूले संसारभरि विकासोन्मुख देशहरुमा सयौं अस्पताल, शैक्षिक र सांस्कृतिक परियोजनाहरू सञ्चालन गरेका थिए ।
अगा खान डेभलपमेन्ट नेटवर्कले साझेदारहरूसँग मिलेर संसारभरिका व्यक्तिहरू र समुदायहरूको जीवन स्तर सुधार गर्ने काम जारी राख्ने बताएको छ ।
इस्माइलीहरू मुस्लिम सम्प्रदायका विश्वभर लगभग १५ मिलियन सदस्य छन् । जसमा पाकिस्तानमा ५ लाख छन् । भारत, अफगानिस्तान र अफ्रिकामा पनि ठूलो जनसंख्या छ ।
अगा खानको अनुमानित सम्पत्ति २००८ मा १ बिलियन डलर थियो । उनको प्रमुख व्यवसाय घोडा पालन थियो।
उनले बेलायत, फ्रान्स र आयरल्याण्डमा रेस घोडाहरूका प्रमुख मालिक र प्रजनकका रूपमा काम गरेका थिए । विश्वका सबैभन्दा प्रसिद्ध र मूल्यवान रेस घोडा शेरगरको प्रजनक उनै थिए।