स्टिल र एलुमिनियम निर्यात शुल्कमा छुट दिन अमेरिकासँग जापानको आग्रह


प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार

जापानले अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कबाट छुट पाउन औपचारिक अनुरोध गरेको छ।

राष्ट्रपति ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा क्रमशः २५ प्रतिशत र १० प्रतिशतबाट २५ प्रतिशतमा वृद्धि गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

“हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौँ,” जापानी प्रवक्ता योशिमासा हायासीले पत्रकारहरूसँग भने ।

उनका अनुसार यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको थियो।

“जापानले यी उपायहरूको विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ,” उनले थपे ।

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाबाट जोगाउन यस्तै शुल्क लगाएका थिए। तर, पूर्व राष्ट्रपति जो बाइडेनले जापानलाई छुट दिएका थिए, जसअनुसार जापानले वार्षिक १२ लाख ५० हजार टन स्टिल बिना शुल्क अमेरिकामा निर्यात गर्न पाउने व्यवस्था थियो।

तर, ट्रम्प प्रशासनको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र एलुमिनियममा २५ प्रतिशत कर लगाइने निर्णय गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com