भोजपुरको रुद्राक्ष अमेरिकासम्म, २१ मु्खे एउटा दाना रुद्राक्ष ६० लाखसम्ममा बिक्री


प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

जिल्लामा रुदाक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिनुभयो ।

बजारमा मुखद्धार दानाको मूल्य राम्रो रहेको छ । एकाइस मुखे मुखद्धार एउटा दाना २० लाखदेखी ६० लाखसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । मुखद्धार बाहेकका दानाको भने मूल्य कम रहेको छ ।

“मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ” सचिव कटुवालले भन्नुभयो,“मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ ।

एकाइस मुखेदाना २० देखी ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रिन्छ ।

”आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ ।

सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे मुखद्धार दाना आकारको आधारमा एक हजार पाँच सयदेखि पाँच हजारसम्म बिक्री हुने गरेको छ ।

त्यस्तै १३ मुखे पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारको आधारमा दश हजारदेखि ५० हजारसम्म, १६ मुखे ५० हजार एक लाखसम्म, १७ मुखे ७० हजारदेखि दुई लाखसम्म, १८ मुखे ढेडलाखदेखि चारलाखसम्म र २१ मुखेलाई २० लाख ६० लाखसम्म पर्दछ ।

उत्पादन भएको रुद्राक्षको बजारीकरणमा समस्या रहेको षडानन्द नगरपालिका दिङ्लाका स्थानीय रुद्राक्ष व्यवसायी सुजन राईले बताउनुभयो ।

रुद्राक्षलाई वन पैदावरको रुपमा राखिएकोले बिक्री वितरणमा समस्या रहेको छ । रुद्राक्षलाई राज्यले नगदेबालीको रुपमा राखिदिए थप सहजता हुने उहाँले बताउनुभयो ।

षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानी, साल्पासिलिछो गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ ।

रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानले यसको सुरक्षासमेत गर्दै आएका छन् ।

भोजपुरबाट यो वर्षको माघ महिनासम्म करिब ७० हजार केजी रुद्राक्ष निर्यात भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत विजय यादवले जानकारी दिनुभयो ।

जिल्लामा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको मुख्य बजार सङ्खुवासभाको खाँदबारी रहेको छ ।

खाँदबारीबाट तराईका जिल्ला, काठमाडौँ हुँदै चीन र भारतमासमेत निर्यात हुने रुद्राक्ष व्यवसायीको भनाइ छ ।

यस्तै युरोप र अमेरिकालगायतका मुलुकमासमेत रुद्राक्ष निर्यात हुने गरेको छ ।

भोजपुरमा रुद्राक्षको इतिहास हेर्दा विसं १९३२ भन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ छ ।

रुद्राक्ष समुद्री सतहदेखी एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने विज्ञहरुको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com