फर्कन परे लज्जित हुन नपर्नेगरी नृत्यमार्फत अमेरिकामा नेपाली संस्कृति चिनाउँछु: गोविन्द राई


प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार

२०२६ सालमा धरानको रत्नचोकमा जन्मिएका लोकप्रिय नृत्य निर्देशक गोविन्द राई अहिले अमेरिकाको न्युयोर्कमा सकृय रहेका छन् । १०० भन्दा बढी नृत्य निर्देशन गरेका उनले झण्डै छ सय म्युजिक भिडियोहरूमा कोरियोग्राफी गरेका छन् भने कैयन विज्ञापनहरूको पनि कोरियोग्राफी गरेका छन् । क्यानडा र मलेसियामा नृत्य निर्देशन गरेको अनुभव भएका उनले अहिले अमेरिकामा पनि निर्देशन गरिरहेका छन् । ३ दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सकृय राईसँग खसोखास सम्पादक दीपक परियारको कुराकानी ।

तीन दशकभन्दा लामो समयदेखि निरन्तर नृत्य निर्देशन क्षेत्रमा सक्रिय हुनुहुन्छ। कसरी प्रवेश गर्नुभयो?

बाल्यकालदेखि नै नृत्यप्रति रुचि राख्ने व्यक्ति थिएँ। अरूले भन्थे, “आमाको गर्भबाट नाच्दै जन्मिएको होस्।” सानैदेखि नृत्यको रसमा डुबेँ। नृत्यप्रति मेरो ठूलो इच्छाशक्ति थियो। पढाइ सुरु गरेपछि पनि नृत्यलाई निरन्तरता दिएँ। गीत बज्नासाथ नाच्थेँ। स्कूलमा म सबैको प्रिय थिएँ। स्कूलदेखि नै स्थानीय क्लबमा आबद्ध भएर नृत्य गर्न र सिकाउन थालेँ। विभिन्न सांगीतिक कार्यक्रमहरूमा प्रस्तुति दिन थालेँ। त्यसपछि बाल्यकालमै धरानमा डान्सरको रूपमा चिनिन थालेँ।

आफ्नै जन्मथलो धरानमा कौशिला राई र विष्णु रसाइली दिदीहरूले नृत्य सिकाउनुहुन्थ्यो। त्यही क्रममा मेरो इच्छाशक्ति झन् बढ्यो। म सधैं क्याप्टेन बन्न चाहन्थेँ। २०४२ सालमा धरानकै नाट्य क्षेत्रबाट मेरो नृत्यको काम सुरु भयो। “आकाश” नामक नाटकमा काम गर्ने अवसर पाएँ। त्यसपछि “गोधूलिमा हेराइ”, “शिशिरको अन्तिम दिन” जस्ता ८–१० वटा नाटकमा काम गरेँ।

त्यहीबीचमा नाट्य समूहमा नृत्य सिकाउन पनि थालेँ। तर, कलाकार बन्ने अवसर गुम्छ कि भन्ने डर लाग्यो, रिस पनि उठ्यो। त्यसपछि नृत्य सिकाउने काममा ध्यान दिएँ। मिलन राईले मलाई हौसला दिनुभयो। राम्रो कलाकार बन्ने सपना थियो। नेपालको शीर्ष नृत्य निर्देशक बन्ने चाहना थियो। त्यतिबेला अंग्रेजी बोल्न पनि आउँदैनथ्यो। क्लबहरूमा धेरै नृत्यहरू सिकाएँ। प्रथम स्थान हासिल गरेँ। क्लबहरू पनि प्रथम–प्रथम हुन्थे।

त्यसपछि आफैंमा प्रेरणा जाग्यो। मेरो सबैभन्दा ठूलो शक्ति मेरो इच्छाशक्ति थियो। सबैले राम्रो शुभकामना दिनुभयो। पछि चलचित्र “ज्वालामुखी” मा किसोर सुब्बा नामका निर्देशकसँग काम गर्ने अवसर पाएँ। उहाँबाट थप अवसरहरू प्राप्त भए।

वास्तवमा, मेरो नृत्य कला देखेर आमाले भन्नुहुन्थ्यो, “यसले नाचेरै जीवन चलाउँछ।” “आमाले मलाई नाचेर खाओस् भनेर आशीर्वाद दिनुभएको रहेछ। त्यसैले म नाचेर र नचाएरै जीवन चलाइरहेको छु।” कालान्तरमा नृत्यबाटै जीवन चलाएँ। नृत्यबाटै आफूलाई स्थापित गरेँ।

यहाँको विगत र वर्तमानबारे चर्चा गर्दा, कलाकारिता क्षेत्रमा के–कस्ता अनुभूतिहरू छन्?

पहिलेको समयमा कलाकारलाई भगवानको रूपमा हेरिन्थ्यो। गौरी मल्ल, मौसमी मल्ल, भुवन दाइजस्ता कलाकारहरूको पालामा दर्शकको माया निकै धेरै थियो। राम्रा कलाकारलाई भगवानजस्तै मानिन्थ्यो। फिल्मका कलाकारहरू भगवानजस्ता लाग्थे।

अहिले भने इज्जत धेरै कम भएको छ। पहिलाका अग्रज कलाकारहरूले अहिलेका कलाकारलाई बिर्सिएका छन्। त्यो बेला फिल्म अगाडि बढाउन सबैले मेहनत गर्थे। अग्रज कलाकार, निर्देशक, क्यामेराम्यान र प्राविधिकहरूलाई सम्मान गरिन्थ्यो। अहिले त्यो चलन हराएको छ। हामी हँसाउने र रमाइलो गराउने गर्थ्यौं। एकअर्कालाई सम्मान र माया गर्थ्यौं। तर अहिले सम्मान कम भएको छ। सद्भाव हराएको छ। अहिले कलाकार आफैं जाने, आफैं आउने गर्छन्। धेरैजसो “बलेको आगो ताप्ने” अवस्था छ। तर पहिलाका अग्रजहरूकै कारण आज फिल्म क्षेत्र स्थापित भएको हो।

नृत्य क्षेत्रले कला र संस्कृतिलाई कसरी संरक्षण गर्छ?

नृत्य र संगीतले सबैभन्दा बढी आफ्नो भाषा, कला र संस्कृतिलाई मूर्त रूप दिन्छ। भेषभूषा र शब्दको प्रतिनिधित्व गरेर नृत्य र संगीतले प्रमुख भूमिका खेल्छ। जातजाति, भाषा र समुदायको कला, संस्कृति र परम्परालाई संगीतले बोकेको हुन्छ। त्यसलाई नृत्यको भाषामा सरल र सुन्दर ढंगले प्रस्तुत गर्नुपर्छ।

नेपाली कला क्षेत्रलाई प्रवर्धन गर्न अमेरिकाबाट यहाँको भूमिका के हुनेछ?

देशको विविधताजस्तै अमेरिकामा पनि भाषिक र सांस्कृतिक विविधता छ। अमेरिकामा राई, मगर, गुरुङ, शेर्पा, तामाङ, परियार, विश्वकर्मा, दलित, ब्राह्मण, क्षेत्री आदि समुदायहरू बस्छन्। यहाँ बस्ने नेपालीको यो विविधताको प्रतिनिधित्व गर्दै यसको संरक्षण र प्रवर्द्धनमा मेरो योगदान रहनेछ।

अमेरिकामा सम्भावना के देख्नुहुन्छ?

मेरो रगत, नसा र हृदयमा नृत्यबाहेक अरू केही छैन। मैले देखेको सपना पनि नृत्यबाहेक अरू होइन। भाग्यले होइन, कर्मले मलाई यो बाटो देखायो। सबै नेपालीले मलाई नृत्य निर्देशक गोविन्द राई भनेर चिन्छन्। यहाँ बस्ने तमु, तामाङ, शेर्पा समुदायले मलाई निम्तो दिन्छन्। मैले उहाँहरूबाट सम्मान, माया र कदर पाएको छु।

अमेरिका आउँदा म नृत्य निर्देशकको रूपमा आएको हुँ। यहाँ “राइट पर्सन” को पहिचान पाएको छु। अमेरिका आएपछि देउसी भैलोमा ५०० सयभन्दा बढीलाई सबैलाई टिकट र खाना निःशुल्क व्यवस्था गरेँ। सबैले रमाइलो अनुभव गरे। मैले आफ्नो देशको संस्कृति चिनाएको छु। नेपालमा रहँदा पनि यति उच्च सम्मान पाएको थिइनँ।

नृत्य निर्देशनका क्रममा तपाईंले भोग्नुभएको दुःखद वा अविस्मरणीय क्षण केही छन्?

अमेरिकामा त्यस्तो केही छैन। नेपालमा भने फिल्म क्षेत्रमा अलिकति संघर्ष गर्नुपर्‍यो। सुरुमा कहिले खाना खाएँ, कहिले भोकै बसेँ।  आलु र चिया खाएर सुतेको अवस्था थियो। मैतीदेवीमा बस्दा, धरानबाट चिनेको कोही आउँछ कि भनेर बाटो कुरेर बस्ने दिनहरू पनि थिए।

नृत्य र फिल्म निर्देशनका क्रममा खुशीका क्षण वा अनुभव पनि होलान्, नि?

२०४६ सालमा एसएलसीमा फेल भएपछि म काठमाडौं गएँ। फेल भए पनि मसँग भएको कलाले काम पाउँछु भन्ने विश्वास थियो। धरानकी एक दिदीले राष्ट्रिय नाचघरमा लग्नुभयो। तर, उचाइ कम भएकाले काम पाइनँ। निराश भएर धरान फर्किएँ। धरानमा केही डकुमेन्ट्री नाटकमा काम गर्ने मौका पाएँ। त्यसपछि “ज्वालामुखी”, “धून” जस्ता भिडियो फिल्ममा काम गर्ने अवसर मिल्यो। “धून” मा अभिनेत्री मौसमी मल्ल हुनुहुन्थ्यो। उहाँलाई “धर्मदिदी” बनाएँ। मैले राम्रो काम गरेर “मायाको चिनो” अवार्ड पाएँ। त्यतिबेला त्यो भन्दा खुशी मेरो लागि अरु कुनै थिएन ।

फिल्ममा गीत चल्ने तर फिल्म नचल्ने किन?

संगीत अमर हुन्छ। कथाले नृत्य र संगीतलाई परम्परासम्म उत्साहित बनाउँछ। चलचित्र कथाको सार हो। संगीत चलचित्रको अङ्कुशजस्तै हो। माछा मार्ने बल्छी जस्तै हो ।

अमेरिकाबाट नेपालीलाई जोड्ने तपाईंको आशा र भरोसा के हो? थप आगामी योजना र सम्भावना के देख्नुहुन्छ?

मेरो नृत्य निर्देशन र संगीत मेरो अभिन्न अंग हो। अहिले मेरो डान्स सेन्टर छ, भाषा कला सिकाउने मेरो भविष्य हो, र मेरो देशलाई चिनाउने यो नै मेरो विशेष योजना हो। फर्कनुपरेमा पनि लज्जित हुन नपर्नेगरी नेपाली संस्कृतिलाई अमेरिकामा चिनाउनेछु।  हरेक नेपालीको बच्चाका लागि विविधता नृत्यमा चिनाउने हो। यो मेरो थप सम्भावना र प्रस्तुती रहनेछ। मेरो यसैमा जीवन छ। नृत्य र सफलता मेरो जीवन हो। मेरो जीवनमा सबैलाई कलाकारिता, फिल्म जगत र नृत्यको आशा र भरोसाको दीप जलाउनेछु।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com