एसिया-प्रशान्त मञ्चको १२ औँ वार्षिक बैठक बैंककमा सुरु, प्रगतिमाथि समीक्षा (तस्बिरहरू)
प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

दिगो विकाससम्बन्धी १२ औँ एसिया-प्रशान्त मञ्च (एपीएफएसडी) को वार्षिक बैठक थाइल्यान्डको बैंककमा सुरु भएको छ । एसिया–प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य (एसडीजीएस)को प्रगति अनुगमन र समीक्षा गर्नका लागि मंगलबारदेखि थाइल्यान्डको बैककमा रहेको संयुक्त राष्ट्रसङ्घ सम्मेलन केन्द्र (यूएनसीसी)मा बैठक सुरु भएको हो ।
एसिया र प्रशान्त क्षेत्रमा कसैलाई पनि पछाडि नछाड्ने गरी २०३० सम्मको एजेन्डा र यसको दिगो विकासको लक्ष्यहरूको लागि दिगो, समावेशी, विज्ञान र प्रमाणमा आधारित समाधानहरू अगाडि बढाउनु बैठकको मुख्य विषयवस्तु रहेको छ । मञ्चमा क्षेत्रीय प्रवृत्तिहरू पहिचान गर्दै सिकाइएका उत्कृष्ट अभ्यासहरू र नीति निर्माणका पाठहरू आदानप्रदान गरिने छ ।
यस मञ्चमा नेपालसहित एसिया–प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरू, विशेष गरी कम विकसित देशहरू, भूपरिवेष्ठित विकासशील देशहरू तथा साना टापु विकासशील राष्ट्रहरूको सहभागिता रहेको छ । २०२५ मै अमेरिकाको न्यूयोर्कमा आयोजना हुने उच्च–स्तरीय राजनीतिक मञ्च (एचएलपीएफ)लाई लक्षित गर्दै बैठकमा दिगो विकास लक्ष्यहरूको प्रगति समीक्षा गरिनेछ ।
राम्रो स्वास्थ्य र कल्याण, लैङ्गिक समानता, शिष्ट काम र आर्थिक वृद्धि, पानी मुनि जीवन, लक्ष्यहरूको लागि साझेदारी लगायतका दिगो विकासका लक्ष्यहरूमा छलफल गरिनेछ । बैठक फेब्रुअरी २८ सम्म चल्नेछ ।
हेर्नुहोस् तस्बिरहरू :
तस्बिरहरू : दीपेन्द्र ढुङ्गाना