टिचिङ अस्पतालमा देखिएको वास्तविक घटनाबाट जन्मिएको एउटा गीत, जुन ७ मिलियनभन्दा बढीले हेरे
प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

कथा सन् १९९१ सालको हो। स्कूलको साप्ताहिक अतिरिक्त क्रियाकलापअन्तर्गत एथलेटिक्स कार्यक्रम चलिरहेको थियो। म पनि ट्रिपल जम्पमा सहभागी थिएँ। जम्प गर्ने क्रममा अवतरण स्थलमा गल्तीले एउटा सानो ढुङ्गा परेको रहेछ। म त्यसैमा चिप्लिएँ र खुट्टाको पैताला माथिको भागमा गम्भीर चोट लाग्यो।
तीव्र पीडाले म त्यहीँ थचक्क बसेँ। तुरुन्तै मलाई टिचिङ अस्पताल पुर्याइयो। जाँचपछि डाक्टरले मेरो खुट्टा फ्र्याक्चर भएको बताए। प्लास्टर लगाइयो र केही दिन अस्पतालमै बस्नुपर्यो।
म अस्पतालको बेडमा पल्टिरहेको थिएँ। छेउकै बेडमा झन्डै १७-१८ वर्षजस्ती देखिने एक युवती थिइन्। उनको हातमा सेतो ब्यान्डेज बाँधिएको थियो। उनीसँगै उस्तै उमेरको एक युवक बसेका थिए, सायद उनका नजिकका कोही—प्रेमी होला।
उनीहरू केही दिनदेखि त्यहीँ थिएजस्तो लाग्थ्यो। हाम्रा आँखा बारम्बार जुध्थे, तर कुनै संवाद भने भएको थिएन। तर परिस्थिति नै यस्तो थियो कि शब्दविना नै हामीले एकअर्कालाई बुझिरहेका थियौँ।
मेरो खुट्टाको उपचार चलिरहेको थियो। केही दिनपछि म डिस्चार्ज भएँ। उनी भने त्यहीँ थिइन्, उस्तै अवस्थामा। डिस्चार्ज भए पनि म बेलाबेला फलोअपका लागि अस्पताल जान्थेँ। अचम्म, ती युवतीलाई म हरेक पटक त्यहीँ देख्थेँ।
हाम्रो फलोअपको दिन र समय लगभग उस्तै हुन्थ्यो। क्रमशः हाम्रो भेटघाट मुस्कान र हल्का हाइ-हेलोसम्म सीमित भयो। जब-जब उनी मलाई देख्थिन्, हल्का मुस्कुराउँथिन्। अनि म पनि जवाफमा मुस्कुराउँथेँ।

एक दिन मेरो प्लास्टर खोल्ने दिन थियो। म अस्पताल पुगेँ। उनी पनि त्यहीँ थिइन्। यस पटक उनी पहिलेभन्दा खुसी देखिन्थिन्। उनको अनुहारमा आत्मविश्वास र राहत झल्किरहेको थियो।
“आज त खुसी देखिनुहुन्छ,” मैले हल्का मुस्कानसहित सोधेँ। “हो, आज मेरो अन्तिम फलोअप हो। अब अस्पताल आउनु पर्दैन,” उनले शान्त मुस्कानसहित जवाफ दिइन्। डाक्टरसँग काम सकेर उनी परिवारका सदस्यहरूसँग बिदा हुने तयारीमा थिइन्। उनीहरू सबैले खुसीसाथ धन्यवाद दिइरहेका थिए।
तर अचानक, उनले नमस्ते गर्न खोज्दा उनको एउटा हात उठ्न सकेन। त्यो क्षण उनी स्तब्ध भइन्। केही सेकेन्डसम्म उनी आफ्नै शरीरलाई नियालिरहिन्, मनमा हजारौँ भावनाहरू घुमिरहेका थिए। उनका आँखा आँसुले भरिए।
उनको अनुहारमा देखिएको आत्मविश्वास क्षणभरमै टुट्यो। मानौँ, उनले अहिलेसम्म आफैँलाई ढाँटिरहेकी थिइन्, तर अब सत्य उनमाथि हावी भइरहेको थियो। त्यो क्षण उनले आफूलाई अकल्पनीय यथार्थको सामना गर्न बाध्य पाइन्।
एकाएक उनको शरीर हल्का काँप्यो। उनले आँसु रोक्न खोजिन्, तर सकिनन्। गहिरो सास तान्दै उनले आँखा बन्द गरिन्, तर आँसु झन् झरिरहे। उनको अनुहारमा व्यथा मात्र थिएन, एउटा गहिरो अभावको अनुभूति पनि थियो—जसले उनलाई भित्रैदेखि हल्लाइदियो।
“नरोऊ, जे भयो भयो। अब रोएर के फाइदा?” छेउको युवक, सम्भवतः उनका प्रेमी, सम्झाउँदै थिए।
तर उनले आँसुका बीचमा आँखा उठाइन्। ती युवकको अनुहार हेर्दै आफ्नो काटिएको हाततिर फर्किइन्। उनका आँखाले गहिरो पीडा व्यक्त गरे। केही बेर उनी मौन रहिन्। सायद सोचिरहेकी थिइन्—उनको जीवन फेरि पहिलेजस्तो सामान्य हुन सक्दैन।
त्यही बेला, भावनाले भरिएको स्वरमा उनले भनिन्, “नरोऊ तिमी भन्छौ भने, हाँस्ने आधार पनि त देखाइदेऊ।”
त्यो एक वाक्यले त्यहाँको माहोल एकाएक स्तब्ध बनायो। चारैतिर सन्नाटा छायो। ती युवकले उनलाई सम्झाउन खोजे पनि उनका आँसु रोकिएनन्। म कुर्सीमा बसिरहेको थिएँ, खुट्टामा अझै बैसाखी टेकेको अवस्थामा। त्यो दृश्यले मेरो मनलाई गहिरोसँग छोयो।
पछि बुझ्दा थाहा भयो, ती युवती र युवक प्रेमी-प्रेमिका रहेछन्। उनीहरू नगरकोट घुम्न गएको बेला मोटरसाइकल दुर्घटनामा परेका रहेछन्। दुर्घटनामा ती युवतीको हातमा गहिरो चोट लागेर काट्नुपरेको थियो।
(न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाले लेखेको ‘नरोऊ तिमी भन्छौ भने ‘ बोलको गीत युट्युबमा मात्र साढे ७ मिलियनभन्दा धेरैपटक हेरिएको छ । यो गीतको भिडियो सन् २०१७ मा आएको थियो । गीतमा निखिता थापाको स्वर रहेको छ भने स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ ।)