युक्रेनलाई ४० अर्ब युरोसम्मका हतियार सहयोग गर्न इयुको आग्रह
प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

युरोपियन युनियनले युक्रेनलाई ४० अर्ब युरोसम्मका हतियार उपलब्ध गराउन आग्रह गरेको छ । यो आग्रह इयुले आफना सदस्य राष्ट्रहरुलाई गरेको हो ।
अमेरिका र रुसबीचमा युद्धविराम सम्झौताको लागि वार्ता चलिरहेको बेला इयुले गरेको पछिल्ला आग्रहलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
इयुका विदेश मामिला प्रमुख काजा कालासको प्रस्तावले रुस विरुद्ध सङ्घर्ष गरिरहेका युक्रेनका सेनाहरूको सबैभन्दा महत्वपूर्ण आवश्यकताहरू पूरा गर्न ‘मद्धत पुग्ने अपेक्षा गरिएको छ ।
सन् २०२५ मा युक्रेनलाई कम्तीमा २० अर्ब युरो अनुमानित मूल्यको र युक्रेनी आवश्यकताहरूका आधारमा सम्भावित रूपमा ४० अर्ब युरोसम्म पुग्ने सैन्य समर्थन प्रदान गर्न प्रोत्साहित गरिन्छ इयुको दस्तावेजमा भनिएको छ ।
यो सहयोग देशहरुको आफनो आर्थिक भार र क्षमता अनुुसार हुनुपर्ने इयुको भनाई छ ।
ट्रम्पले रुसको आक्रमण अन्त्य गर्न युक्रेनलाई प्रतिकूल शान्ति सम्झौता स्वीकार गर्न बाध्य पार्न सक्ने डरले युरोपले युक्रेनका लागि आफ्नो समर्थन बढाउन खोजिरहेको छ ।
युक्रेनले ३० दिनको युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएपछि अमेरिकाले यस हप्ता युक्रेनलाई आफ्नो सहायता पुनः सुरु गरेको छ । तर रुसले अहिलेसम्म हस्ताक्षर गर्न अस्वीकार गरिरहेको छ ।