रुससँगको वार्ताले शान्तिको आशा जगाएको राष्ट्रपति ट्रम्पको भनाई
प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेन युद्ध शान्तितर्फ उन्मुख हुने संभावना बढेको बताएका छन ।
उनले रुससँग अमेरिकी प्रतिनिधिमण्डलले गरेको संवादले रक्तपात रोकिने र शान्ति कायम हुने आशा जगाएको बताएका हुन ।
उनले रुससँग फलदायी र आशा जगाउने गरी वार्ता भएको र यसको परिणाम छिटै आउने बताए ।
राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन पनि आग्रह गरेका छन ।
तीन वर्षको युद्धपछि रुस र युक्रेनबीच ३० दिने युद्धविरामको योजनाबारे छलफल गर्न ट्रम्पका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो ।
कुर्स्कको केही भाग युक्रेनले गत वर्ष कब्जा गरेको थियो । सन् २०१४ मा क्रिमिया कब्जा गरेर सन् २०२२ फेब्रुअरीमा पूर्ण आक्रमण रुसले युक्रेनमाथि सुरु गरेको थियो ।
पुटिनले ट्रम्पलाई युद्धविरामका बारेमा ‘थप’ सङ्केत पठाएको बताएका छन । ओभलमा भएको वार्तापछि बिग्रिएको अमेरिका र युक्रेनबीचको सम्वन्ध साउदी अरबको जेद्धामा भएको वार्तापछि सामान्य बनेको छ ।
अमेरिकाले दिदै आएको सैन्य सहयोग र गुप्तचर जानकारी युक्रेनलाई उपलव्ध गराउन थालेको छ । राष्ट्रपति ट्रम्पले चुनावी दौरानमा रुस युक्रेन युद्ध चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि युक्रेन र रुसलाई हेर्ने दृष्टिकोणमा नाटकीय परिवर्तन आएपछि युरोपेली देशहरुसँग अमेरिकाको सम्वन्ध कमजोर बनिरहेको छ ।