अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत रसूललाई निष्कासन गर्ने
प्रकाशित मिति : चैत्र १, २०८१ शनिबार

अमेरिकाले दक्षिण अफ्रिकाका राजदूतलाई निष्कासन गर्ने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका राजदूत अमेरिकामा बस्न योग्य नभएको बताएका हुन ।
रुबियोले राजदूत इब्राहीम रसूललाई अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको घृणा गर्ने व्यक्ति भएको भन्दै आरोप लगाएका छन ।
जातीय विभाजनको राजनीति गर्ने व्यक्ति भएको भन्दै रुबियो ले रसूलसँग अब कुनै विषयमा कुरा नहुने बताए । यो कदमले दुई देशबीचको बढ्दो तनावलाई उजागर गरेको छ ।
रुबियोले रसूललाई अस्वीकृत व्यक्ति भनेका छन । क्यानाडाबाट विदेश मन्त्रीहरूसँगको बैठकबाट फर्किने क्रममा रुबियोले सामाजिक सञ्जालबाट धारणा सार्बजनिक गरेका हुन ।
ट्रम्पको शासनकालको शुरुआतदेखि अमेरिकी र दक्षिण अफ्रिका बीचको सम्बन्ध बिग्रदै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गएको महिना दक्षिण अफ्रिकामा सहायता रोक्नका लागि कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
उक्त आदेशमा दक्षिण अफ्रिकामा गोरा अफ्रिकनसँग असमान जातीय भेदभाव गरिएको आरोप लगाइएको छ । दक्षिण अफ्रिकाले आफ्नो कानून जातीयता सँग सम्बन्धित नभएको भन्दै अस्वीकार गरेको छ ।
रसूलले यसअघि २०१० देखि २०१५ सम्म दक्षिण अफ्रिकाको वाशिंगटन स्थित राजदूतको रूपमा सेवा गरेका थिए । सन २०२५ मा उनलाई पुनः सो पदका लागि नियुक्त गरिएको थियो ।